काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्रसहित ५८ राजनीतिक दलले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा सबैभन्दा बढी स्वतन्त्र उम्मेदवार रहेका छन् ।
निर्वाचन आयोगका अनुसार १६५ सीटका लागि हुने प्रतिनिधिसभा निर्वाचनको लागि दुई हजार ५२६ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमध्ये दुई हजार २९१ जना पुरुष र २३५ जना महिला रहेका छन् ।
उम्मेदवारी दिनेमध्ये ९४३ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । स्वतन्त्र उम्मेदवारी दिनेमा ८५ जना महिला र ८५८ जना पुरुष रहेका छन् ।
राजनीतिक दलमध्ये सबैभन्दा बढी स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उम्मेदवार उठाएको छ । राप्रपाले १६५ मध्ये १४५ स्थानमा आफ्ना उम्मेदवार उठाएको छ ।
राप्रपापछि धेरै स्थानमा उम्मेदवारी दिने राजनीतिक दलमा नेकपा एमाले रहेको छ । एमालेले १४४ स्थानमा उम्मेदवार उठाएको छ । धेरै स्थानमा उम्मेदवार उठाउनेको सूचीको तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १३३ स्थानमा उम्मेदवारी दिएको छ ।
यस्तै, नेपाल मजदुर किसान पार्टीले १०७, नेपाली कांग्रेसले ९२, मंगोल नेशनल अर्गनाइजेसनले ८८, जनता समाजवादी पार्टी, नेपालले ८१, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले ६५, हाम्रो नेपाल पार्टीले ६४, राष्ट्रिय जनमुक्ति पार्टीले ५६, जनमत पार्टीले ५५ र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ५२ स्थानमा उम्मेदवारी दिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार नेकपा माओवादी केन्द्र ४७, नेपाली कांग्रेस (बी.पी.)ले ४०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ३९, नागरिक उन्मुक्ति पार्टीले ३४, जन समाजवादी पार्टी नेपालले ३४, नेपाल आमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टीले २६, नेकपा माक्र्सवादी लेनिनवादीले २५ र नेकपा एकीकृत समाजवादीले २५ स्थानमा उम्मेदवारी दिएका छन् । यीसहित अन्य दलहरूले पनि उम्मेदवारी दिएको छ ।