वासिङटन- वैज्ञानिकहरूले रुसमा चमेरोमा कोरोनाजस्तै भाइरस फेला पारेका छन्। उक्त भाइरसले मानिसलाई पनि संक्रमण गर्न सक्ने उनीहरूले बताएका छन्।
‘पीएलओएस प्याथोजिन’ नामक पत्रिकामा प्रकाशित रिपोर्टअनुसार उक्त भाइरसमाथि रुसमा निर्मित कोरोनाविरुद्धको खोप प्रभावहीन देखिएको छ।
वासिङटन स्टेट युनिभर्सिटीका शोधकर्ताहरूले उक्त भाइरस फेला पारेका हुन्। उनीहरूका अनुसार यो कोरोनाकै सब-क्याटेगोरी अर्थात् भेरियन्ट हो। यो अध्ययनले भविष्यमा कोरोनाजस्तै महामारीको जोखिमबाट मानव समुदायलाई बचाउन मद्दत मिल्ने अपेक्षा छ। र, त्यसविरुद्ध विश्वव्यापी रूपमा खोप विकास गर्न पनि मद्दत पुग्ने विश्वास छ।
शोधकर्ताहरूले सन् २०२० को अन्त्यमा रुसी चमेरामा भाइरसको खोजी गरेका थिए। शोधकर्ताहरूले दुईवटा भाइरस फेला पारेका थिए, जसलाई ‘खोस्ता-१’ र ‘खोस्ता-२’ नाम दिएका थिए। तीमध्ये ‘खोस्ता–२’ अलि खतरनाक पाएका थिए।
उक्त भाइरसले मानिसका कोशिकाहरूमा संक्रमित गर्ने अध्ययनबाट पुष्टि भएको छ। ‘खोस्ता–१’ प्रजातिमाथि भने हालसम्म विकसित कोरोनाविरुद्धको खोप प्रभावी देखिएको छ।
पछिल्ला दिनमा वैज्ञानिकहरूले संसारभरबाट कोरोनाजस्तै भाइरसको खोजी व्यापक बनाएका छन्। भेटिएका सयौं भाइरसमध्ये अधिकांश मानव कोशिकालाई संक्रमित गर्न सक्ने प्रकृतिका छैनन्।