काठमाडाैं : भारतीय सेनाध्यक्ष प्रमुख मनोज पाण्डे र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएकाे छ। प्रधानमन्त्री देउवा र सेनाध्यक्ष पाण्डेबीच आज सिंहदरबारमा भेट भएकाे हाे।
भेटमा प्रधानमन्त्री देउवाले नेपाल र भारतबीच सैन्यरुपमा संसारकै फरक सम्बन्ध रहेको बताए। एकअर्काको देशमा मानार्थ महारथिको सम्मान दिने परम्परालाई उल्लेख गर्दै देउवाले नेपाल र भारतको सेनाबीच फरक सम्बन्ध रहेको बताएका हुन।
भेटमा भारतीय सेनाले अघि सारेको अग्निपथ योजनाबारे कुराकानी हुने भनिएता पनि कुनै छलफल भने भएन।
भारतीय सेनाले चार वर्षका लागि सैनिक भर्ना गर्ने गरी ‘अग्निपथ योजना’ अघि सारेको छ। नेपाली गोर्खा सैनिकको भर्ना पनि यही प्रक्रिया अनुरुप हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ।
नेपालले यस विषयमा लिखितरुपमा जानकारी माग्दै तत्काललाई अग्निपथ योजना अनुसार नेपाली युवाको भर्तीलाई रोकेको छ। यस विषयमा प्रधानमन्त्री देउवा र भारतीय सेना प्रमुखबीच कुराकानी हुनसक्ने भनिएको थियो।
उनले जनरल पाण्डेलाई मानार्थ महारथीको सम्मान प्राप्त गरेकोमा बधाई समेत दिए। पाण्डे पाँच दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आएका थिए।