काठमाडौँ । श्रम तथा रोजगारमन्त्री शेरबहादुर कुँवर सोमबार एक अपराधिक पृष्ठभूमि व्यक्तिको जन्मदिन मनाउन पुगेका छन् । उनी जन्मदिन समारोहमा ‘चिफ गेस्ट’ बनेर पुगेका हुन् ।
आफूलाई टीभी टुडेका सञ्चालक बताउने सुजन आचार्य २२ वर्ष पुगेको उपलक्ष्यमा मन्त्री कुँवर प्रमुख अतिथिका रुपमा पुगेका हुन् । बर्थ डे याक एण्ड यती होटलमा मनाइएको थियो ।
बर्थ डे केक काट्दै मन्त्री कुँवरले ‘हीरा चोरी’ गर्ने आचार्यसहित टीभी टुडे परिवारलाई बधाई दिए । ०७६ साल चैत १० गते जिल्ला प्रहरी कार्यालय मकवानपुरले हीरा चोरी गर्न संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरी पक्राउ गरेको थियो ।
जसमा एक ‘पत्रकार’ पक्राउ परेका थिए । पक्राउ परेका पत्रकार तिनै आचार्य थिए । प्रहरीका अनुसार जिल्लाको कैलाश गाउँपालिकास्थित गोगनेकी धनलक्ष्मी गुरुङको घरमा हीरा खरिद गर्ने बहानामा पुगेका प्रहरी र पत्रकारले साँझ लुटपाट गरेका थिए ।
उनीहरूको साथबाट ६१.३० क्यारेटको १२.२६० ग्रामको हीरा एक थान, जीईएम आइडेन्टिफिकेसन रिपोर्ट, चाइनिज पेस्तोल एक थान, ७ राउण्ड गोली, सञ्चार सेट चार थान, क्यामेरा एक थान, ल्यापटप एक थान र मोबाइल ६ थान बरामद भएको थियो ।