अछाम । जिल्लाको रामारोशन गाउँपालिकामा भान्छे पदका लागि नियुक्ति भएकी पालिका अध्यक्षकी श्रीमतीले राजिनामा दिएकी छन् । अध्यक्ष मानबहादुर साउँदले कार्यालयका लागि आफ्नै श्रीमतीलाई भान्से पदमा नियुक्त गरेका थिए ।
Advertisement
करारमा भान्छे नियुक्त भएपछि आलोचित भएकी पालिका अध्यक्षकी श्रीमती जयसरा साउँदले पदबाट राजिनामा दिएकी हुन् । पालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले भान्छे नियुक्त भएकी साउँदले राजीनामा दिएको र स्वीकृतसमेत भइसकेको प्रष्ट पारेका छन् ।
साउँदले भान्छे पदमा रही काम गरेबापत लिएको पारिश्रमिक फिर्ता गरेकी छन् । उनले ३१ हजार ६३० रूपैयाँ फिर्ता गरेकी हुन् ।
उक्त रकम गाउँपालिकाको सञ्चित कोषमा दाखिला भएको हो । अध्यक्ष मानबहादुर गत स्थानीय चुनावमा कांग्रेसबाट विजयी भएका हुन् ।
