काठमाडौँ । भारतीय सेना अध्यक्ष जनरल मनोज पाण्डेले नेपाली सेनाको एक टुकडीद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गरेका छन् ।
प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय भ्रमणमा रहेका सेनाध्यक्ष पाण्डेको सम्मानमा सैनिक मुख्यालय जंगी अड्डामा आज बिहान आयोजित समारोहमा सम्मान गारत अर्पण गरिएको हो ।
उक्त अवसरमा उनले जङ्गी अड्डा मूल भवन परिसरमा वृक्षरोपणसमेत गरेका थिए । यसअघि उनले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने भएकी छन् ।
राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् । सेनाध्यक्ष पाण्डे नेपाल भ्रमणका लागि आइतबार आएका हुन् ।