काठमाडौं- सरकारले संशोधन गर्ने निर्णय गरेको कानून संसदले स्वीकारेमा हालको प्रतिनिधिसभाको कार्यकाल २० फागुनसम्म कायम रहने भएको छ।
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकअन्तर्गत प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ संशोधन गर्दै प्रतिनिधिसभाको पहिलो बैठक बसेको अघिल्लो दिनसम्म कार्यकाल कायम रहने व्यवस्था सरकारले गर्न लागेको हो। १० र २१ मंसिर ०७४ मा दुई चरणमा भएको प्रतिनिधिसभा निर्वाचनपछि पहिलो बैठक २१ फागुनमा बसेको थियो।
पहिलो बैठक बसेको अघिल्लो दिन पाँच वर्षे कार्यकाल शुरु भएको मानिने व्यवस्था कानूनमै गर्न लागिएको हो। त्यसअनुसार वर्तमान प्रतिनिधिसभाको कार्यकाल आगामी २० फागुनसम्म कायम रहने छ। त्यससम्बन्धी विधेयक शुक्रबारको मन्त्रिपरिषदले स्वीकृत गरी शुक्रबार नै संसदमा दर्ता गरिसकेको छ।
तथापि, ४ मंसिरमा सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभाको पहिलो बैठक जहिले बस्छ, त्यसको अघिल्लो दिनसम्म मात्र वर्तमान प्रतिनिधिसभाको कार्यकाल कायम रहने छ।