काठमाडौं- एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबार बस्दै छ।
ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो। एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा विभिन्न ११ कार्यसूची छन्।
पार्टी अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी सदस्यहरूको शपथ र कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदनलगायत पेश गर्ने कार्यसूची रहेको रिजालले जानकारी दिए।
यस्तै, सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन, भारत प्रवासको कामका सम्बन्धमा नियमावली, पार्टी कामसँग सम्बन्धित केही नियम निर्माण र समसामयिक प्रस्ताव छन्। स्थानीय निर्वाचनपछि एमालेको केन्द्रीय कमिटी बैठक पहिलो पटक बस्न लागेको हो।
७ भदौमा स्थायी र ९ भदौमा पोलिटब्युरो बैठक बसिसकेको छ। ती दुवै बैठकमा नेताहरूले पार्टी अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा पेश गर्ने राजनीतिक प्रतिवेदनमाथि सुझाव दिएका थिए।