काठमाडौँ । भूगर्भविद् प्रदीपकुमार मुलले पश्चिम नेपाल भूकम्पीय हिसाबमा रेड जोन (जोखिम क्षेत्र) रहेको बताएका छन् ।
धेरै सयमदेखि त्यहाँ भूकम्प नगएको भन्दै भूकम्पविद् मुलले जुनसुकै बेला ठूलो भूकम्प जान सक्ने सम्भावना रहेको बताए । ‘तर कहिले जान्छ ? त्यो यसै भन्न सकिन्न,’ भौर्गर्भिक सूचना प्रणाली विषयमा बुधबार नेपाल इञ्जिनियरिङग कलेज दुवाकोट चाँगुनारायण भक्तपुरका प्राध्यापकहरूसमक्ष प्रस्तुतीकरण दिँदै उनले भने, ‘नेपाल आफैंमा भूकम्पको दृष्टिकोणले जोखिमको मुलुक हो, त्यसमा पनि पश्चिम नेपाल अझ जोखिममा रहेको रेड जोन हो ।’
भूकम्प कहिले आउँछ भन्ने कुरा अहिलेसम्म संसारमा कसैले पनि पत्ता लगाउन नसकेको स्पष्ट पार्दै उनले कसैले यो बेला भूकम्प आउँछ अपत्याउन आग्रह गरे । कार्यक्रममा कलेजका भाइस प्रिन्सिपल दुर्गाप्रसाद भण्डारी, एकेडेमिक कोअर्डिनेटर बाबुराम भट्टराई, कलेजको भूगर्भ विभागकी रोजीना माली, एसोसिएट प्रोफेसर कृष्ण शाहलगायतले भूकम्प पहिला नै आउने थाहा नहुने भएकाले पूर्व सचेतना आवश्यक भएको बताए ।
कार्यक्रममा कलेजका भूगर्भ विभागका प्रोफेसर तथा एसोसिएट प्रोफेसरहरु सहभागी थिए । कार्यक्रमपछि भूवर्भविद् मुललाई कलेजका भाइस प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले मायाको चिनो प्रदान गरेका थिए ।