काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग उपचार गराउने पैसासमेत नभएको बताएका छन् । आइतबार बिहान राष्ट्रिय युवा सम्मेलनले आयोजना गरेका कार्यक्रममा बोल्दै उनले आफूसँग उपचार गराउन पैसासमेत नभएको दाबी गरेका हुन् ।
अध्यक्ष ओलीले आफ्नो र श्रीमतीको नाममा भएको सबै सम्पत्ति सरकारको नाममा गरिदिएकाले विरामी हुँदा उपचार गराउने खर्च नभएको बताएका हुन् । उनले सांसद पदबाट आउने पैसाले उपचार गराइरहेको बताए ।
‘सांसद भएकाले अलिअलि त्यहाँबाट आउँछ, नभए म र मेरो श्रीमतीसँग केही छैन, हामीले हाम्रो सबै सम्पति सरकारको नाममा गरिदिएका छौँ,’ ओलीले भने, ‘तपाईहरूलाई थाहा छ होला, सरकारको नाममा गरिदिएपछि त्यसलाई बेच्न वा धितो राखेर पैसा निकाल्न मिल्दैन, अब तपाईहरूले उचपार गराइदिनुभयो भने छुट्टै कुरा नभए मसँग उपचार गर्ने पैसा छैन ।’
तर, पूर्वप्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले आफ्नो उपचार गराउन भन्दै विभिन्न समयमा राज्यको ढुकुटीबाट अहिलेसम्म करिब १८ करोड रुपैयाँ अनुदान लिसकेका छन् ।