काठमाडौँ । मलेशिया कामदार पठाउने म्यानपावर कम्पनीले अन्तर्वार्ता हुनअगाडि बोलकबोल गरी रकम लिएर अन्तर्वार्ता पास गराउने र कामदार छनोट गर्ने गरेको पाइएको छ । म्यानपावर कम्पनी र एजेण्टलेप्रति कामदार तीन देखि साढे तीन लाख रुपैयाँसम्म रकम असुली गरेको पाइएको हो ।
कामदार छनोट नगरी रकम लिएर अन्तर्वार्तामा सहभागी गराउनु र छनोट गर्नु वैदेशिक रोजगार ऐन २०६४ विपरीत र सरकारले लागु गरेको शुन्य लागत विपरीतको कार्य हो । अधिकांश म्यानपावर व्यवसायी र एजेण्टले वैदेशिक रोजगारीमा जाने कामदारको सुइको पाउने वित्तिकै पासपोर्ट खिचेर स्वास्थ्य परीक्षण गराउन लगाउने गरेका छन् ।
उनीहरुसँग मलेसियाको डिमाण्ड नै नभए पनि मेडिकल गराएर कामदारलाई अड्काउने गरेका छन् । मलेशियाको स्वास्थ्य परीक्षण तीन महिनापछि मान्यता खारेज हुन्छ । त्यसपछि पुनः स्वास्थ्य परीक्षण गराउन म्यानपावर कम्पनी र एजेण्टले दबाब दिने गरेको पीडितले बताए ।
यो वैदेशिक रोजगारीमा देखिएको विकृति हो । यस्ता सयौंको संख्यामा रहेका विकृतिलाई सरकारले नियन्त्रण गर्ने चासो राखेको छैन ।