काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन ओली निवास बालकोट पुगेका छन् । आगामी मंसिर ४ गते संघ र प्रदेशसभा निर्वाचन मिति नजिकिएसँगै दुई नेताबीच छलफल गर्न लिङ्देन बालकोट पुगेका हुन् ।
Advertisement
लिङदेनले यसअघि एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग चुनावमा गठबन्धन गरेर जाने विषयमा छलफल गरेका थिए । यसअघि गत बुधबार राप्रपा महामन्त्री शाही र केन्द्रीय सदस्य रेखा थापाले ओलीसँग भेट गरेका थिए ।
०७४ को निर्वाचनमा झापालगायत केही जिल्लाहरूमा एमाले र तत्कालीन राप्रपा नेपालबीच गठबन्धन भएको थियो । जसका कारण झापा क्षेत्र नं ३ बाट एमालेको बलमा लिङ्देनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए ।
यसपटक लिङ्देन एमालेसँग गठबन्धन गरेर चुनावमा जान चाहेको राप्रपा स्रोत बताउँछ ।