काठमाडौँ । साउन अन्तिम सातादेखि काठमाडौँ उपत्यकाको कुहिने फोहोर शहरमै व्यवस्थापन हुने भएको छ । पछिल्लो समय जटिल बनिरहेको उपत्यकाको फोहोर व्यवस्थापनका लागि स्थान पहिचान भएसँगै काठमाडौँमै व्यवस्थापन गर्न लागिएको हो ।
काठमाडौँ महानगरले कुहिने फोहोरलाई उपत्यकामा नै व्यवस्थापन गर्न पहिलो चरणमा कीर्तिपुरमा करिब ५० रोपनी जग्गा प्राप्त भएको र सोही स्थानबाट नै काम सुरु गर्ने जनाएको छ । उक्त स्थानमा अहिले दैनिक ४० हजार किलो त्यस्ता फोहोरको व्यवस्थापन गरी मल उत्पादन गर्ने सकिने बताइएको छ ।
उक्त स्थानमा हाल आठ वडाबाट उत्पादन हुने कुहिने फोहोरको व्यवस्थापन गर्न सकिने छ । उत्पादित मल सहुलियत दरमा बिक्री गर्ने तयारी पनि कामपाको छ । योसँगै उपत्यकाको अन्य स्थानमा पनि थप जग्गा रोज्ने काम भइरहेको छ ।
सबै किसिमका फोहर बञ्चरेडाँडा पुर्याउँदा पटक–पटक समस्या आएकाले प्रभावकारी रूपमा फोहोरको दीर्घ समाधानका लागि स्थान पहिचानमा लागेको हो । बञ्चरेडाँडामा हानिकारक फोहर व्यवस्थापन नगर्ने योजनाअनुरुप कामपाले यस किसिमको अभ्यास सुरु गरेको हो ।
काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार हाल सम्भावित स्थान पहिचान गर्ने काम जारी छ । यसअन्तर्गत चन्द्रागिरि, दक्षिणकाली, नागार्जुन, तारकेश्वर र उपत्यका बाहिर बनेपासम्म पनि कामपाका प्रमुख बालेन्द्र शाहको नेतृत्वमा अन्य स्थानमा पनि जग्गा खोज्ने काम भइरहेको छ ।
हालसम्म उपलब्ध भएका जग्गामा ५० रोपनीदेखि १५० सम्मको छ । अझै बढी उपयुक्त र कम खर्चिलो जग्गाको खोजीमा लागिरहेको उनले बताए । फोहोर व्यवस्थापनको सहजताका लागि कामपाले यही साउन १ गतेदेखि कामपाले कुहिने र नकुहिने फोहरको फरक–फरक तरिकाबाट व्यवस्थापनको काम पनि सुरु गरिसकेको छ ।
फोहोर मैला व्यवस्थापन ऐन विसं २०६८ मा फोहरको वर्गीकरणको प्रबन्ध गरिएको छ ।