वुटवल । रुपन्देहीमा वैवाहिक बलात्कारविरुद्धको मुद्दा दर्ता भएको छ । तिलोत्तमा नगरपालिकामा एक महिलाले आफ्नै पतिविरुद्ध लामो समयदेखि बलात्कार गरेको भन्दै मुद्दा दर्ता गराएकी हुन ।
तिलोत्तमा नगरपालिका १७ निवासी उक्त पुरुषविरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलमा पुगेर पीडित महिलाले गत मंगलबार बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएकी हुन् ।
डीएसपी ठगबहादुर केसीका अनुसार चौधरी थरकी ती महिलाले ६ महिनादेखि मादक पदार्थ तथा लागूपदार्थ खाएर कुटपिट गर्नाका साथै आफू बिरामी हुँदा पनि श्रीमानले इच्छाविपरीत जबर्जस्ती करणी गरेको आरोप लगाएकी छन् ।
अत्याचारबारे परिवारजन र आफान्तलाई जानकारी गराउँदा वास्ता नगरेपछि प्रहरीसमक्ष उजुरी गर्न आएको महिलाले बताएकी छन् । उजुरीलगत्तै सोबारे अनुसन्धान जारी राखिएको प्रहरीको भनाइ छ ।
आफ्नै पत्नीलाई इच्छाविपरीत जबर्जस्ती करणी गरे पाँच वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था रहेको छ ।