काठमाडौं- एमाले नेता डा. भीम रावलको जिद्दीले बुधबार संसदको बैठक नै अवरुद्ध बन्यो। उनले एसपीपीसम्बन्धी पत्र सदनलाई जानकारी गराउन सभामुखको रुलिङ माग गर्दै करिब २० मिनट संसदको रोस्ट्रम कब्जा गरिदिए।
उनले आफ्नो माग पूरा नभएसम्म रोस्ट्रम नछाड्ने अडान लिएपछि सभामुखले बैठक नै स्थगित गर्नुपरेको थियो। एसपीपीमा सहभागी नहुने निर्णय सरकारले गरे पनि त्यससम्बन्धी पत्र अझै नपठाइएको उल्लेख गर्दै डा. रावलले सभामुखलाई तत्काल पत्रबारे जानकारी दिन रुलिङ गर्न माग गरे। र, रुलिङ नभएसम्म रोस्ट्रम नछाड्ने अड्डी कसे।
सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गरिरहेकी सांसद सत्या पहाडीले उनलाई पटक–पटक रोस्ट्रम छाडेर आफ्नो आशनमा फर्किन अनुरोध गरिन्। तर, डा. रावलले मानेनन्। र, रोस्ट्रममै उभिइरहे।
बैठकमा ग्लोबल ग्रिनग्रोथ इन्स्टिच्युटको सहभागितामूलक सदस्यको रूपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्नेसम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्तावमाथि छलफल भइरहेको थियो। सो प्रस्तावमा सांसदहरू शक्तिबहादुर बस्नेत र पूर्णाकुमारी सुवेदीले आफ्नो धारणा राखेका थिए।
सोही प्रस्तावमाथि आफ्नो धारणा राख्न रोस्ट्रममा पुगेका डा. रावलले भने एसपीपीको विषय उठाएर सरकारलाई रुलिङ गर्न माग गरे। उनले सरकारलाई सहयोग गर्नका लागि नै आफूले यस्तो माग राखेको बताए। उनले रोस्ट्रम नछाडेपछि बैठक १५ मिनटका लागि स्थगित गर्नुपरेको थियो।