वासिङ्टन- अमेरिकाको सिकागोस्थित हाइल्यान्ड पार्कमा आयोजित स्वाधिनता दिवसको परेडमा एक बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गरेका छन्।
घटनामा ६ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। हाइल्यान्ड पार्कका प्रहरी प्रमुखका अनुसार २२ वर्षका युवकले परेडमा गोली बर्साएका हुन्। उनको साथबाट प्रहरीले गोली प्रहारका लागि प्रयोग भएको राइफल पनि बरामद भएको छ।
राष्ट्रपति जो बाइडेनले घटनाप्रति दुःख प्रकट गर्दै अमेरिकामा बन्दुकद्वारा भइरहेका हिंसाविरुद्ध लडाइँ जारी राख्ने बताएका छन्।
प्रहरीका अनुसार २२ वर्षका रोबर्ट ई क्राइमोले अग्लो भवनको छतबाट स्वाधिनता परेडमा अन्धाधुन्द गोली बर्साएका थिए। इलिनोय राज्यका गभर्नर जे रोबर्ट प्रित्जुकरले अमेरिकामा गोलीबारी साप्ताहिक परम्परा बनेकामा क्षोभ प्रकट गरेका छन्। अमेरिकामा गत महिना टेक्सस, बफेलो सुपरमार्केटलगायत धेरै ठाउँमा गोलीबारीका घटना भएका थिए।