नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सवार हेलिकोप्टरलाई लक्षित गर्दै सोमबार आक्रमण भएको छ।
आन्ध्र प्रदेशको कृष्णा जिल्लामा मोदी सवार हेलिकोप्टर उडेलगत्तै काला फोकाहरू उडाएर आक्रमण गरिएको हो। प्रधानमन्त्री मोदीको सुरक्षामा संकट उत्पन्न गर्न खोजेको अभियोगमा स्थानीय प्रहरीले भारतीय राष्ट्रिय कंग्रेसका चार कार्यकर्तालाई पक्राउ गरेको छ।
समाचार एजेन्सी एएनआईले अपुष्ट स्रोत उल्लेख गर्दैै घटनाको भिडियो सार्वजनिक गरेको छ। प्रहरीका अनुसार पक्राउ परेका कंग्रेस कार्यकर्तालाई छिट्टै अदालतमा उपस्थित गराइने छ। अन्य संदिग्ध व्यक्तिहरूलाई पनि पक्राउ गरिने प्रहरीले जनाएको छ।
प्रधानमन्त्री मोदी आन्ध्र प्रदेशको पश्चिमी गोदावरी जिल्लाको भीमावरममा आयोजित क्रान्तिकारी नेता अल्लुरी सीताराम राजुको १२५औं जन्मजयन्ती समारोहमा सहभागी हुन गएका थिए। त्यसक्रममा उनले राजूको शालिक अनावरण गरेका थिए।
त्यसक्रममा स्थानीय विमानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो। तर, उनी सवार हेलिकोप्टर विमानस्थलबाट उडेलगत्तै वरिपरिबाट काला फोकाहरू उडाइएको थियो। स्थानीय भाजपा नेताहरूले प्रधानमन्त्री मोदीको सुरक्षा नै संकटमा पर्ने गरी कंग्रेस कार्यकर्ताहरूले त्यस्तो हर्कत गरेको बताएका छन्। र, घटनाबारे गम्भीर अनुसन्धान गर्न आग्रह गरेका छन्।