काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीका मन्त्रीहरू परिवर्तन भएसँगै जनता समाजवादी पार्टी (जसपा)ले पनि मन्त्री फेर्ने भएको छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने र नयाँ मन्त्री चयन गर्ने अधिकार यादवलाई दिएसँगै जसपाभित्रको विवाद नयाँ उत्कर्षमा पुग्ने भएको छ ।
सोमबार मध्य राति बसेको जसपा कार्यकारिणी समितिको बैठकले मन्त्री फिर्ता बोलाउने र नयाँ नाम सिफारिस गर्ने अधिकार यादवलाई दिएको कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंहले जानकारी दिए ।
जसपाबाट राजेन्द्र श्रेष्ठ, रेणु यादव, महेन्द्र यादव र रायशायप्रसाद यादव मन्त्री छन् । अब उनीहरूलाई फिर्ता बोलाएर नयाँको नाम सिफारिस गरिने छ ।
जसपामा महत्वपूर्ण निर्णय लिँदा अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अशोक राईलाई अधिकार दिइएको थियो । तर, सोमबार यादव पक्षले मात्रै यस्तो गम्भीर निर्णय गरेको हो ।
यस्तै, बैठकले डा. बाबुराम भट्टराई र मन्त्री महिन्द्रराय यादवलाई कारवाही गर्ने निर्णय गरेको छ । यसको अधिकार पनि यादवलाई दिइएको छ ।
भट्टराई र यादवले पार्टी फुटाउन सांसद तथा कार्यकारिणी सदस्यहरुको हस्ताक्षर संकलन गरेको र निर्वाचन आयोगमा परामर्शसमेत गरेको आरोप छ ।