काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारलाई सूत्र दिएका छन्।
सरकारी राजस्व र मूल्य अभिवृद्धि करमा प्रतिलिटर ३० रुपैयाँ घटाउँदा मूल्य कम हुने उनको सल्लाह छ। युक्रेन र रुसबीच जारी युद्धका कारण भएको महँगी नियन्त्रण नभएसम्म उत्तः व्यवस्था कायम राख्नुपर्ने उनले बताएका छन्।
त्यसो गर्दा प्रतिलिटर पेट्रोल १८५ र डिजेल १७७ रुपैयाँमा उपलब्ध हुने उनको भनाइ छ। र, त्यसबाट आयल निगमलाई प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ ४२ पैसा र डिजेलमा एक रुपैयाँ पाँच पैसा नाफा हुने उनले ठम्याएका छन्।
आफू प्रधानमन्त्री भएको भए सोही व्यवस्था लागू गर्ने पुनको जिकिर छ। ‘यसलाई नेपालीमा सर्प पनि मर्ने लठ्ठी पनि नभाँचिने र अंग्रेजीमा विन विन सिचुएसन भन्छन्,’ महावीरले आफ्नो फेसबुक पेजमा लेखेका छन्।
यस्तो प्रावधान अहिले संसारमा युक्रेन र रुसको लडाइँले गर्दा भएको मूल्यवृद्धि नरोकिँदासम्म र विश्व बजारमा पेट्रोलियमको भाउ सामान्य नहुन्जेलसम्म लागू गर्नुपर्ने उनले बताएका छन्।
‘किनभने विश्व बजारको मूल्य हामीले घटाउन सक्दैनौं। हामीले घटाउन सक्ने भनेको पेट्रोलियम पदार्थमा लाग्ने राजस्व र कर मात्र हो। यसो गर्दा जनताले थोरै भए पनि राहत पाउने छन् र नेपाल आयल निगम पनि डुब्ने छैन,’ महावीरले भनेका छन्, ‘माननीय सभासदज्यूहरूले यो प्रस्तावलाई बहुमतले पारित गर्नु होला। अनि जनताले सरकारको खोइरो खन्ने छैनन् अथवा खोइरो खने पनि अलि कम खन्ने छन्। धेरैले जयजयकार पनि गर्ने छन्।’
महावीरले दिएको सूची
