काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको जवाफ बहिष्कार गर्ने भएको छ । एमालेले मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले दिने भनिएको जवाफ बहिष्कार गर्ने भएको हो ।
प्रतिनिधिसभामा जारी बजेटमाथिको छलफलमा आज अर्थमन्त्री जनार्दन शर्मासहित अन्य मन्त्रीले जवाफ दिने कार्यसूची छ । यसै क्रममा एमालेले अर्थ मन्त्रालय बाहिरका व्यक्तिलाई प्रवेश गराएर अर्थमन्त्रीले बजेटमा राजश्वको दर परिवर्तन गरेको भन्दै स्पष्टीकरण नआएसम्म अर्थमन्त्रीको जवाफ बहिष्कार गर्ने भएको हो ।
प्रतिनिधिसभा बैठक सुरू भएसँगै एमालेका तर्फबाट पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटको विषय राष्ट्रिय सुरक्षा जत्तिकै गोपनिय विषय भएको बताए । उनले अर्थमन्त्री पदमा बस्न नमिल्ने जिकिर गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको समेत ध्यानाकर्षण गराएका थिए ।
पाण्डेको मागसँगै एमाले सांसदहरू आफ्नो स्थानबाट उभिएर विरोध जनाएका थिए । एमाले सांसदहरु उभिएपछि सभामुख अग्नि सापकोटाले एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई समय दिए ।
भट्टराईले पनि प्रतिनिधिसभाको कार्यसूचीबाट अर्थमन्त्रीले जवाफ दिने विषय हटाउन माग गरेका थिए ।