काठमाडौँ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा काठमाडौँको बानेश्वरमा सिलिण्डर बम पड्काएर आतंक मच्चाउने चार आरोपी पूर्पक्षका लागि थुनामा गएका छन् ।
उनीहरूविरुद्ध काठमाडौँ जिल्ला अदालतमा पेश भएको मुद्दामा अदालतको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार एक सूचना जारी गरी जनाएको छ ।
नयाँ बानेश्वरस्थित संसद भवनअगाडि सडकमा विष्फोट गराएर फरार रहेका उनीहरूको खोजतलासका लागि प्रहरीले विशेष अपरेशन सञ्चालन गरेको थियो । उनीहरूको पहिचान गर्न प्रहरीले अनुसन्धानका विविध विधि तथा प्रविधिको प्रयोग गरेको थियो ।
यसरी थुनामा जानेमा गोरखा घर भई हाल काठमाडौँ बस्ने हरिकृष्ण थापा, काभ्रे घर भई ललितपुर बस्ने करण श्रेष्ठ, भोजपुर घर भई भक्तपुर बस्ने युवराज थापा र खोटाङका भरतकुमार राई रहेका छन् ।
अभियुक्त राई यसअघि विभिन्न समयमा हातहतियार खरखजना, बैकिङ कसुर तथा कर्तव्य ज्यान मुद्दामा पक्राउ परी कारवाही गरिएका व्यक्ति हुन् । अनुसन्धानमा उनी मिडियाको आवरणमा जनताको सुसूचित हुन पाउने अधिकारलाई समेत तोडमरोड गर्दै आतंक मच्चाएर आर्थिक उपार्जन गर्ने उद्देश्य राखेको खुल्न आएको छ ।