भारत आसाममा आफ्नै बेहुलालाई पक्राउ गरेर जेल पठाएकी प्रहरी अधिकृत ठगी आरोपमा पक्राउ परेकी छन्।
आफ्नै ‘मंगेतर’ राणा पोगागलाई ठगी अभियोगमा पक्राउ गरेर जेल पु¥याएकी आसाम प्रहरीकी सब–इन्स्पेक्टर जुनमोनी राभा सोही अभियोगमा पक्राउ परेकी हुन्। उनका मंगेतर राणालाई जस्तै उनलाई पनि ‘आपराधिक षडयन्त्र’ र ठगी आरोप लागेको छ।
मंगेतर राणासँग मिलेर उनले ठगी गरेको अभियोगमा अनुसन्धान अगाडि बढाइएको आसाम प्रहरीले जनाएको छ। प्राकृतिक ग्यास निगम र ओएनजीसीको ठेक्का दिलाउने भन्दै सब–इन्स्पेक्टर जुनमोनीले ठगी गरेको खुलेको प्रहरीको भनाइ छ।
उनले आफ्नो बैंक खातामा ठगीबाट आर्जित रकम राखेको प्रहरीले फेला पारेको छ। गत अक्टोबरमा राणा र जुनमोनीबीच विवाहका लागि ‘सगाई’ भएको थियो। र, आगामी नोभेम्बरमा उनीहरूले विवाह गर्दै थिए। मंगेतरलाई पक्राउ गर्दा उनले आफूलाई उनी ठग भएको जानकारी नरहेको दाबी गरेकी थिइन्। तर, उनी आफू पनि प्रहरीको बर्दी लगाएर ठगीमा संलग्न रहेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो।