भारतको उत्तराखण्डमा जारी चारधाम यात्रा शुरु भएको एक महिनामा १२५ जना तीर्थालुको मृत्यु भइसकेको छ। मृतकमध्ये ९० पुरुष र ३५ महिला छन्।
कोभिड महामारीका कारण दुई वर्ष रोकिएको चारधाम यात्रा यस वर्ष खुलेको हो। तर, यात्रामा निस्केका तीर्थालुको अनपेक्षित मृत्यु हुन थालेपछि विवाद उत्पन्न भएको छ।
मृतकमध्ये ७५ जना ६० वर्षभन्दा बढी उमेरका रहेको उत्तराखण्डका अधिकारीहरूले बताएका छन्। मृतकमध्ये अधिकांशलाई हृदयाघात भएको पाइएको छ।
कोभिड महामारी शुरु हुनुअघिका वर्षमा चारधाम यात्रामा ६ महिना (मेदेखि अक्टोबरसम्म)मा करिब एक सयजनाको मृत्यु हुने गरेको थियो।
यमुनोत्री, गंगोत्री, केदारनाथ र बद्रीनाथ यात्राले खतराको घण्टी बजाएको छ। अहिले दैनिक ५५ हजारदेखि ५८ हजारसम्म तीर्थालु चारधाम यात्रामा पुग्ने गरेका छन्। कोभिडभन्दा अगाडिका वर्षको तुलनामा यस वर्ष दैनिक १५ हजार बढी संख्यामा तीर्थालु पुगिरहेका छन्।
सबै चारधाम समुद्री सतहबाट १० हजार फिटभन्दा बढी उचाइमा स्थित छन्। हिमाली क्षेत्रको मौसमी परिस्थिति र अत्यधिक भीडका कारण तीर्थालुको धमाधम मृत्यु भइरहेको अनुमान छ।