काठमाडौँ । सरकारले आर्थिक वर्षमा २०७८–७९ को बजेटमार्फत सबै राष्ट्र सेवक कर्मचारीको तलबमा १५ प्रतिशत वृद्धि गरेकोे घोषणा गरेको छ । सोहीअनुरुप सबै प्रकारका सरकारी पद धारणा गरेकाहरूको पनि तलब वृद्धि गरिएको छ ।
जसअनुसार सरकारले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री, मन्त्री र सांसदको तलबसमेत १५ प्रतिशतले वृद्धि गरेको छ । राजपत्रांकितको तलब १५ प्रतिशतका दरले वृद्धि भएसँगै राष्ट्रपतिदेखि सांसदसम्मको तलब आगामी साउन १ गतेदेखि लागु हुने छ ।
आगामी साउनदेखि राष्ट्रपतिको तलब एक लाख ७३ हजार १७ रुपैयाँ पुगेको छ । त्यस्तै, उपराष्ट्रपतिले तलबका रुपमा एक लाख २४ हजार २ सय ३४ रुपैयाँ पाउने छन् ।
यस्तै, प्रधानमन्त्रीले साउन १ गतेदेखि मासिक ८८ हजार ८ सय ७२ रुपैयाँ पाउने छन् । हाल प्रधानमन्त्रीको तलब ७७ हजार २८० रुपैयाँ छ ।
सभामुखको तलब ७७ हजार ४१८ रुपैयाँ पुगेको छ । हालको तलबमा १० हजार ९८ रुपैयाँ वृद्धि हुँदा उक्त रकम पाउने भएको हो । हाल सभामुखको तलब ६७ हजार ३२० रुपैयाँ छ ।
यसैगरी, उपप्रधानन्त्रीको तलबमा ७४ हजार ९८० रुपैयाँ र मन्त्रीहरूको तलब ७० हजार ११५ रुपैयाँ पुगेको छ ।
सांसदहरूको तलब ५५ हजार २३० रुपैयाँबाट बढेर ६३ हजार ५१४ रुपैयाँ पुगेको छ । तलबबाहेक सरकारले राष्ट्रपतिदेखि सांसदसम्मलाई विभिन्न सेवा तथा सुविधाहरू दिँदै आएको छ ।