फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोन र जर्मन चान्सलर ओलाफ सोल्जले युक्रेनबाट तत्काल आफ्नो सेना हटाउन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आग्रह गरेका छन्। जवाफमा पुटिनले युक्रेनलाई हतियार दिन बन्द गर्न उनीहरूसँग आग्रह गरेका छन्।
तीन नेताबीच शनिबार एक घण्टा २० मिनट भएको संयुक्त संवादमा म्याक्रोन र सोल्जले युक्रेनबाट तत्काल सेना हटाउन पुटिनलाई आग्रह गरेका हुन्।
जवाफमा युक्रेनलाई ठूलो परिमाणमा हतियार पठाउने तयारीमा रहेका फ्रान्स र जर्मनीका नेताहरूलाई पुटिनले त्यसले युक्रेनमा थप अस्थिरता बढ्ने दाबी गरे। युक्रेनलाई लगातार हतियार पठाउनु ‘खतरनाक’ हुने चेतावनी पनि पुटिनले दिए।
म्याक्रोन र सोल्जले पुटिनलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग सीधा वार्ता गर्न पनि सुझाए। र, युक्रेनको मारियुपोलको अजोवस्तालमा स्टिल प्लान्टभित्र बन्दी बनाइएका करिब अढाइ हजार युक्रेनी सेनालाई तत्काल छाड्न पनि म्याक्रोन र सोल्जले पुटिनलाई आग्रह गरे। हालै रुस सरकारका प्रवक्ताले विश्वव्यापी खाद्य संकट अन्त्य गर्न युक्रेनलाई कृषिउपज निर्यातको अनुमति दिन सकिने बताएका थिए।