पछिल्लो समय रासायनिक मलमा बढेको महँगी भारतले किसानसम्म पुग्न नदिने भएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार गृहप्रदेश गुजरातमा एक र्यालीलाई सम्बोधन गर्दै किसानसम्म महँगीको असर पुग्न नदिने बताएका हुन्। युक्रेन युद्ध र कोभिड महामारीका कारण बढेको महँगी किसानसम्म पुग्न नदिने र मल पनि अभाव हुन नदिइने उनले बताए।
‘५० किलोको युरिया मलको लागत ३५ सय रुपैयाँ पर्छ। तर, सरकारले तीन सय रुपैयाँ प्रतिबोरा किसानलाई उपलब्ध गराउने छ। सरकारले किसानका लागि हरेक बोरामा ३२ सय रुपैयाँ लगानी गरिरहेको छ,’ उनले भने।
यसअघि भारतका मल मन्त्री मनसुख माण्डवियले युक्रेन युद्धका कारण भएको अभाव पूर्ति गर्न क्यानाडा र इजरायलबाट सरकारले मल आपूर्ति गर्न लागेको बताएका छन्।
र्यालीलाई सम्बोधन गर्दै मोदीले भारतमा दैनिक आठ करोड रुपैयाँको दूध उत्पादन हुने र त्यो धान र गहुँको संयुक्त बजारको भन्दा बढी परिमाण भएको उल्लेख गरे। त्यसैले दुग्धजन्य क्षेत्रमा गठित सहकारीहरूको भूमिका अझ बढाउनुपर्ने उनले बताए।