क्वाड लिडर्स समिटमा सहभागी हुन जापान पुगेका अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको पहिलो एसिया भ्रमण टुंग्याएका छन्।
यहीबेला उत्तरकोरियाले बुधबार बिहान तीनवटा ब्यालिस्टिक मिसाइल परीक्षण गरेको छ। बाइडेन स्वदेश फर्किने तयारीमा रहँदा उत्तरकोरियाले उनलाई सन्देश दिने गरी मिसाइल परीक्षण गरेको हो।
दक्षिणकोरियाका अधिकारीहरूका अनुसार उत्तरकोरियाली राजधानी प्योङयाङको सुनान इलाकामा एक घण्टाभित्र तीनवटा मिसाइल परीक्षण गरेको हो। राष्ट्रपति बाइडेनले आफ्नो पहिलो एसिया भ्रमणका क्रममा दक्षिणकोरिया पनि गएका थिएन।
सन् २०२२ शुरु भएयता उत्तरकोरियाले धेरै ब्यालिस्टिक मिसाइल परीक्षण गरिसकेको छ। जापानी अधिकारीहरूले भने उत्तरकोरियाले तीनभन्दा बढी मिसाइल परीक्षण गरेको हुन सक्ने बताएका छन्।
जापानका रक्षामन्त्री नोबुओ किसीका अनुसार पहिलो मिसाइल तीन सय किलोमिटर टाढा र ५५० किलोमिटर उचाइसम्म प्रहार गरिएको थियो। दोस्रो मिसाइल ५० किलोमिटर माथि र करिब ७५० किलोमिटर टाढा पुगेको थियो।