काठमाडौं- आज २ सेप्टेम्बर। विश्व इतिहासका असंख्य घटनाका कारण आजको दिन संसारभर स्मरण गरिन्छ। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १६६६- ग्रेट फायर अफ लन्डन
३५९ वर्षअघि आजकै दिन बेलायतको राजधानी लन्डन आगलागीको चपेटामा परेको थियो। यसलाई ग्रेट फायर अफ लन्डनको नाममा पनि चिनिन्छ। एक बेकरीबाट सल्केको आगोले चार दिनसम्म लन्डनमा तबाही मच्चाएको थियो।
– सन् १७५२- ग्रेगोरियन क्यालेन्डरलाई ब्रिटेनमा मान्यता
२७१ वर्षअघि आजकै दिन तत्कालीन ग्रेट ब्रिटेनले ग्रेगोरियन क्यालेन्डरलाई मान्यता दिँदै आफ्नो साम्राज्यमा कार्यान्वयनमा ल्याएको थियो। यसलाई पश्चिमा क्यालेन्डर पनि भन्ने गरिन्छ। संसारभर अहिले सबैभन्दा बढी यही क्यालेन्डर प्रचलनमा छ। त्यसअघि तत्कालीन ग्रेट ब्रिटेनले जुलियन क्यालेन्डर प्रयोग गर्दै आएको थियो।
– सन् १९४६- भारतमा अन्तरिम सरकार
भारतमा आजकै दिन संविधान सभा निर्वाचनका लागि अन्तरिम सरकार गठन भएको थियो। उक्त सरकारले गराएको संविधान सभाको निर्वाचनले भारतबाट आधिकारिक रूपमा ब्रिटिस शासनको अन्त्य गराएको थियो। अन्तरिम सरकारको नेतृत्व जवाहरलाल नेहरूले गरेका थिए।
– सन् १९६०- तिब्बती निर्वासित संसदको पहिलो चुनाव
तिब्बती निर्वासित संसदको पहिलो चुनाव आजकै दिन भएको थियो। तिब्बती धार्मिक नेता दलाई लामा ल्हासाबाट भागेर भारत पुगेको ११ वर्षपछि उक्त चुनाव भएको थियो। निर्वासित तिब्बतीहरूले आजको दिनलाई डेमोक्रेसी डेका रूपमा मनाउँछन्।
– सन् १९६९- हो ची मिन्हको निधन
भियतनामका प्रथम राष्ट्रपति हो ची मिन्हको आजकै दिन निधन भएको थियो। १९ मे १८९० मा जन्मेका उनी भियतनामका कम्युनिस्ट क्रान्तिकारी नेता थिए।
– सन् १९९२- निकारागुवा भूकम्पमा मारिए ११८
सन् १९९२ मा मध्य अमेरिकी मुलुक निकारागुवामा गएको भूकम्पमा ११८ जनाको ज्यान गएको थियो।
– सन् १९९८- स्विस एयर दुर्घटनामा मारिए २२९
सन् १९९८ मा आजकै दिन स्विस एयरको विमान दुर्घटनामा २२९ जनाको ज्यान गएको थियो। ‘म्याकडोनल डग्लस एमडी-११’ विमान क्यानाडाको नोभा स्कोटियास्थित पेग्गिज कोभनजिक दुर्घटनामा परेको थियो।
– सन् २०१५- धर्तिमा बचे ३ ट्रिलियन रुख
सन् २०१५ मा आजकै दिन वैज्ञानिकहरूले धर्तिमा ३ ट्रिलियन रुख मात्र बचेको सनसनिखेज रिपोर्ट सार्वजनिक गरेका थिए। उक्त रिपोर्ट यले विश्वविद्यालयका थोमस क्रोथरको अनुसन्धानपछि नेचर जर्नलमा प्रकाशित भएको थियो।
– सन् २०१९- क्यालिफोर्नियामा डुंगामा आगलागी हुँदा ३४ को गयो ज्यान
सन् २०१९ मा आजकै दिन अमेरिकाको क्यालिफोर्नियामा एक डुंगामा आगलागी हुँदा त्यसमा सवार ३४ जनाको ज्यान गएको थियो। क्यालिफोर्नियाको सान्ता क्रुज टापुमा उक्त घटना भएको थियो।
– सन् २०२५- लागूऔषध ओसार्ने पानीजहाजमा अमेरिकी आक्रमण
सन् २०२५ मा आजकै दिन अमेरिकाले लागूऔषध ओसारपसारमा संलग्न एक पानीजहाजमाथि क्यारेबियन सीमा आक्रमण गरेको थियो। त्यस घटनामा ११ जना मारिएका थिए। उक्त आक्रमण सामान्यतया कानून कार्यान्वयन गर्ने एजेन्सीहरू माथि रोक लगाइएको घटना थियो। र, संदिग्ध मानिसलाई पक्राउ गर्ने तरिकाभन्दा पृथक थियो।