हरारे- दक्षिणी अफ्रिकी मुलुक जिम्बाब्वेमा चर्चका सदस्य बोकेको मिनीबस र मालवाहक ट्रक आपसमा ठोक्किँदा २७ जनाको मृत्यु भएको प्रहरी प्रवक्ताले शनिबार बताएका छन् । यो दुर्घटना पछिल्ला दिनमा जिम्बाब्वेमा भएका सडक दुर्घटनाको शृङ्खलाकै अर्को घटना हो ।
प्रहरी प्रवक्ता पल न्याथीका अनुसार शुक्रबार राति सम्मेलनमा सहभागी हुन जाँदै गरेका चर्चका सदस्य सवार मिनीबस चिभु सहरनजिकै ट्रकसँग ठोक्किएको थियो । राजधानी हरारेबाट करिब १३२ किलोमिटर दक्षिणमा पर्ने मुख्य राजमार्गमा अर्को सवारीसाधनलाई उछिन्ने क्रममा ट्रक मिनीबससँग ठोक्किएको उहाँले विज्ञप्तिमार्फत बताउनुभएको छ ।
सरकारी प्रसारण संस्था ‘जेडबीसी न्युज’का अनुसार २३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्यको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनापछि मिनीबसमा आगलागी हुँदा जलेर पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । न्याथीले दुवै सवारीसाधनमा रहेका यात्रुको सङ्ख्या यकिन हुन नसकेको बताउनुभयो ।
दुर्घटनामा मृत्यु हुनेहरू सेतो पोसाक लगाउने परम्पराका लागि परिचित अफ्रिकाको एक लोकप्रिय स्थानीय क्रिश्चियन सम्प्रदायका सदस्य रहेको बताइएको छ ।
जिम्बाब्वेमा क्षमताभन्दा बढी यात्रु बोकेका बस तथा मिनीबस र नियमनबाहिर रहेका ट्याक्सी दुर्घटनामा पर्ने गरेका छन् । तीव्र गति, लापरबाहीपूर्वक सवारी चलाउने प्रवृत्ति तथा सडकको खराब अवस्थालाई दुर्घटनाका प्रमुख कारण मानिन्छ ।
जिम्बाब्वेका अधिकारीहरूका अनुसार देशमा हुने सडक दुर्घटनामध्ये करिब ९४ प्रतिशत मानवीय त्रुटिका कारण हुने गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घको अफ्रिकाका लागि आर्थिक आयोगका अनुसार अफ्रिकामा सडक दुर्घटनामा परी वार्षिक करिब तीन लाख मानिसको मृत्यु हुने गरेको छ । यो विश्वभर सडक दुर्घटनाबाट हुने कुल मृत्युको करिब एक चौथाइ हो
आयोगका अनुसार अफ्रिकामा सडक दुर्घटनाबाट हुने मृत्युदर विश्वमै सबैभन्दा उच्च छ ।
करिब एक दशमलव पाँच अर्ब जनसङ्ख्या रहेको अफ्रिकी महादेशमा विश्वभर सञ्चालनमा रहेका कुल सवारीसाधनको करिब तीन प्रतिशत मात्रै रहेको भए पनि सडक दुर्घटनाबाट हुने मृत्युको दर उच्च रहेको आयोगले जनाएको छ ।