काठमाडौं- आज ४ अगस्ट। विश्व इतिहासका असंख्य घटनाले आजको दिनलाई देश, क्षेत्र र स्थान विशेषमा संसारभर स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही चर्चित घटनाको सारसंक्षेप।
– सन् १९१४- जर्मनीविरुद्ध ब्रिटेनको युद्ध घोषणा
सन् १९१४ मा आजकै दिन ब्रिटेनले जर्मनीविरुद्ध युद्ध घोषणा गरेको थियो। यो प्रथम विश्वयुद्धको एक प्रमुख घटना थियो। बेल्जियमबाट बाहिर निस्किन जर्मनीलाई दिइएको अल्टिमेटम बेवास्ता गरेपछि ब्रिटेनले युद्ध घोषणा गरेको थियो।
– सन् १९६१- ह्याप्पी बर्थडे बाराक ओबामा
सन् १९६१ मा आजकै दिन अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा जन्मेका थिए। हवाईको होनोलुलुस्थित कापिओलानी मेडिकल सेन्टरमा उनी जन्मेका हुन्। हाल ६५ वर्षका उनी सन् २००९ देखि २०१७ सम्म अमेरिकाको ४४औं राष्ट्रपति बनेका थिए।
– सन् २०१५- रेल दुर्घटनामा ३१ को मृत्यु
भारतको मध्यप्रदेशमा आजकै दिन भएको २ वटा रेल दुर्घटनामा ३१ जनाको मृत्यु भएको थियो। बाढीका कारण २ यात्रीवाहक रेल पुलबाट तल खसेका थिए। घटनामा अन्य १०० घाइते भएका थिए।
– सन् २०१९- कायरो विष्फोटमा २० को गयो ज्यान
सन् २०१९ मा आजकै दिन इजिप्टको कायरोमा भएको कार बम विष्फोटमा २० जना मारिएका थिए। त्यो आतंकवादी आक्रमणकै हिस्सा थियो।
– सन् २०२०- बेरुत विष्फोटमा २१८ को हत्या
सन् २०२० मा आजकै दिन लेबनानको बेरुतस्थित बन्दरगाहमा भएको भयानक विष्फोटमा २१८ भन्दा बढीको ज्यान गएको थियो। घटनामा ७ हजारभन्दा बढी घाइते भएका थिए। लडाकु समूह हेज्बोल्लाहले उक्त विष्फोट गराएको थियो।
– सन् २०२१- भूमध्य सागरीय क्षेत्र डढेलोको हटस्पट
सन् २०२१ मा आजकै दिन भूमध्य सागर आसपासको क्षेत्र डढेलोको हटस्पट बनेको घोषणा गरिएको थियो। अत्यधिक तापक्रमका कारण भूमध्य सागर आसपासको क्षेत्रका जंगलमा निरन्तर डढेलो लागेको थियो। सोही क्षेत्रमा पर्ने ग्रिसमा ४० वर्षयताकै सर्वाधिक खराब गर्मी रेकर्ड भएको थियो।
– सन् २०२३- सियान पहिरोमा मारिए २१
सन् २०२३ मा आजकै दिन चीनको साङ्सी प्रान्तको सियान शहरमा पहिरोमा पुरिएर २१ जना मारिएका थिए। टाइफुन खानुनका कारण भएको वर्षापछि पहिरो गएको थियो।