काठमाडौंबाट बडका भलमन्साले
गज्जबको मोबाइल किने,
र ठग्गालाई थमाउँदै भने-
Advertisement
ए भतिज,
अब काम-वाम छोड
आजकाल काम गर्ने होइन
टिकटक बनाउने जमाना हो
पोस्ट गर, भाइरल बन !
कहिले नदी किनारमा,
कहिले डाँडाको टुप्पोमा,
कहिले झगडा छुटाएजस्तो,
कहिले विकास देखाएजस्तो !
हातमा मोबाइल,
मुखमा ठूलो गफ
पछाडि भाडाका ताली
अगाडि क्यामेराको शासन !
दुई मिनटको अभिनयले
पाँच वर्षको हिसाब माग्नेहरू पनि
दंग पर्ने भए !
ठग्गाले मुस्कुराउँदै भन्यो-
काका, काम गरेर पसिना बगाउने
जमाना गयो !
अब त फिल्टर लगाएर
जनताको आँखा छले पुग्छ !
बडका भलमन्सा हाँस्दै भने-
वाह भतिज
यही त नयाँ राजनीति हो
काम देखाउनु नपर्ने
देखाएजस्तो गरे पुग्ने !