काठमाडौं- आज १ अगस्ट। विश्व इतिहासका असंख्य घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, इतिहासमा आज भएका केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १८७०- विश्वको पहिलो अन्डरग्राउन्ड रेलमार्ग सञ्चालन
१५६ वर्षअघि आजकै दिन विश्वको पहिलो अन्डरग्राउन्ड रेलमार्ग सञ्चालनमा आएको थियो। बेलायती राजधानी लन्डनस्थित थेम्स नदी मुनिबाट बनाइएको उक्त रेलमार्ग आजकै दिन यात्री प्रयोजनमा खुला गरिएको थियो। तथापि, उक्त रेलमार्ग केही महिनाभित्रै बन्द गरियो। अहिले त्यसको प्रयोग यात्री आवतजावतका लागि गरिँदैन।
– सन् १९५८- अरब फेडेरेसन विघटन
सन् १९५८ मा आजकै दिन अरब फेडेरेसन विघटन भएको थियो। १४ जुलाई १९५८ को क्रान्तिको दौरान इराकी राजा फैजललाई पदच्युत गरी उनको हत्या गरिएपछि जोर्डन र इराकको उक्त अल्पकालीन फेडेरेसन भंग भएको हो।
– सन् १९९०- कुवेतमा इराकको आक्रमण
सन् १९९० मा आजकै दिन इराकले कुवेतमाथि आक्रमण शुरु गरेको थियो। २ दिनभित्र इराकी फौजले कुवेती सेनालाई परास्त गर्यो। र, सद्दाम हुसेनले कुवेतलाई इराकको १९औं प्रान्त घोषणा गरे। इराकी आक्रमण ७ महिनासम्म जारी रह्यो। पछि संयुक्त राष्ट्र संघीय गठबन्धनले हस्तक्षेप गरी कुवेतलाई इराकको कब्जाबाट मुक्त गरायो।
– सन् १९९८- दोस्रो कंगो युद्ध शुरु
अफ्रिकी मुलुक कंगोमा आजकै दिन दोस्रोपटक युद्ध छेडिएको थियो। अफ्रिका महादेशकै सबैभन्दा घातक मानिएको यस युद्धमा ५४ लाख मानिसले ज्यान गुमाएको अनुमान छ। यो युद्ध डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा विद्रोहसँगै शुरु भएको थियो, जसमा तत्काल ९ अफ्रिकी मुलुक सामेल भएका थिए। उक्त युद्ध ५ वर्षसम्म चल्यो।
– सन् २०१९- चेन्नईमा भेटिए ५२६ वटा दाँत भएका बालक
सन् २०१९ मा भारतको चेन्नईमा एक ७ वर्षीय बालकको मुखमा ५२६ वटा दाँत पाइएको थियो। र, आजकै दिन चिकित्सकहरूले सफलतापूर्वक उनको शल्यक्रिया गरेका थिए।
– सन् २०२०- अफगानी जेलमा आईएसको आक्रमण
सन् २०२० मा आजकै दिन अन्तर्राष्ट्रीय आतंकवादी संगठन इस्लामिक स्टेटले अफगानिस्तानको जलालावाद शहरको जेलमा आक्रमण गरेको थियो। कारागारको प्रवेशद्वारमा आईएसले बम विष्फोट गराएको थियो। त्यसपछि २० घण्टासम्म चलेको गोलीबारीमा २९ जनाको ज्यान गएको थियो। र, कारागारबाट ३०० भन्दा बढी कैदी भाग्न सफल भएका थिए।
– सन् २०२२- अमेरिकी सभामुखको विवादास्पद ताइवान भ्रमण
सन् २०२२ मा आजकै दिन तत्कालीन अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणमा गएकी थिइन्। विना अनुमति आफ्नो क्षेत्रमा भ्रमण गरेको भन्दै चीनले कडा विरोध जनाएको थियो।
– सन् २०२३- १४० वर्षयताकै ठूलो वर्षा
सन् २०२३ मा आजकै दिन चीनको राजधानी बेइजिङमा १४० वर्षयताकै सर्वाधिक ठूलो वर्षा रेकर्ड भएको थियो। २९ जुलाईदेखि २ अगस्टसम्ममा ७४४.८ मिलिमिटर वर्षा भएको थियो। समुद्री तुफान डोक्सुरीले उक्त वर्षा गराएको थियो।
– सन् २०२४- पूर्वी अफ्रिकाको पहिलो विद्युतीय रेल
सन् २०२४ मा आजकै दिन अफ्रिकी मुलुक तान्जानियामा पहिलो विद्युतीय रेलमार्ग सञ्चालनमा आएको थियो। त्यो पूर्वी अफ्रिकाको पहिलो विद्युतीय रेल थियो। व्यापारिक केन्द्र दारेसलामलाई उक्त रेलले राजधानी डोडोमासँग जोड्छ।
– सन् २०२४- अमेरिका र रुसबीच कैदी आदानप्रदान
सन् २०२४ मा आजकै दिन अमेरिका र रुसले शीतयुद्धयताकै ठूलो संख्यामा कैदीहरू आदानप्रदान गरेका थिए। त्यस क्रममा २४ मुलुकका कैदी आदानप्रदान गरिएको थियो। त्यसमा अमेरिकी पत्रकार इभान गेर्सकोभिच र पूर्व अमेरिकी मरिन पल व्हेलन पनि सामेल थिए। अमेरिकी जेलमा सजाय काटिरहेका रुसी अपराधी भादिम क्रासिकोभलाई पनि अमेरिकाले रुसको जिम्मा लगाएको थियो।
– सन् २०२५- जागिर दिन नसकेकी श्रम विभाग प्रमुख बर्खास्त
सन् २०२५ मा आजकै दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युवा पुस्तालाई जागिर दिलाउन असक्षम श्रम विभाग प्रमुख एरिका म्याकइन्टारफरलाई पदबाट बर्खास्त गरेका थिए। उनी श्रमिक तथ्यांक ब्युरोकी प्रमुख थिइन्। रोजगारी वितरण कमजोर रहेको रिपोर्टपछि उनलाई हटाइएको थियो। एरिका पूर्ववर्ती राष्ट्रपति जो बाइडेनको पालामा उक्त पदमा नियुक्त भएकी थिइन्।