कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको सत्ता समीकरण फेरिने चर्चासँगै मुख्यमन्त्रीको दौड तीव्र बनेको छ। नेपाली कांग्रेस र एमालेको सहकार्यमा बनेको प्रदेश सरकारबाट एमाले बजेट पारित हुनुअघि नै बाहिरिएपछि नयाँ सरकार गठनको कसरत सुरु भएको राजनीतिक वृत्तमा चर्चा छ।
स्रोतका अनुसार एमाले संसदीय दलका नेता राजेन्द्र रावल आफूलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउन पार्टी नेतृत्वसमक्ष लबिङमा जुटेका छन्। तर, पार्टीभित्रकै केही प्रदेशसभा सदस्यले रावलको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै वैकल्पिक नेतृत्वको पक्षमा आवाज उठाइरहेका छन्।
यता नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता खगराज भट्ट पनि आफ्नो दलको नेतृत्वमा सरकार गठन भए आफू मुख्यमन्त्रीको स्वाभाविक दाबेदार रहेको बताउँदै राजनीतिक भेटघाटलाई तीव्र बनाइरहेका छन्। तर, उनीमाथि पनि आफ्नै दलभित्र पूर्ण समर्थन नरहेको चर्चा राजनीतिक वृत्तमा छ। यसबीच उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगसमेत छलफल बढाएको बताइन्छ।
राजनीतिक वृत्तमा अर्को चर्चा पनि चलिरहेको छ। यदि माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुन नसके कांग्रेससँग सहकार्य गरेर सरकारमा सहभागी हुने विकल्पबारे समेत छलफल भइरहेको र त्यसक्रममा वर्तमान मुख्यमन्त्री कमलबहादुर शाहसँग अनौपचारिक परामर्श भएको दाबी गरिएको छ। यद्यपि, यसबारे सम्बन्धित नेताहरूले औपचारिक प्रतिक्रिया दिएका छैनन्।
हाल सुदूरपश्चिम प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का २२, नेपाली कांग्रेसका १८, नेकपा (एमाले) का ११ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १ जना गरी ५२ सांसद रहेका छन्। यही अंकगणितका आधारमा नयाँ सत्ता समीकरणको खोजी भइरहेका बेला प्रदेशको राजनीतिक गतिविधि थप रोचक बन्दै गएको छ।