कैलाली । डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा शनिबार बिहान सुपप्र ०१-००१ ज १८५० नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको जिप बिहान २ बजे सडकबाट करिब ३/४ सय मिटर तल भिरमा खसेर दुर्घटनामा परेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले बताए ।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थल पुगेर उद्धार कार्य सञ्चालन गरेको एसपी कार्कीले बताए ।
घाइते पाँचै जनालाई तत्काल उपचारका लागि डडेल्धुरा अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा बिहान करिब ५:५५ बजे दुई जनाको मृत्यु भएको अस्पतालले जानकारी दिएको प्रहरीले जनाएको छ । घाइते तीन जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
मृत्यु हुनेमा अपिहिमाल गाउपालिका १ दार्चुलाका ४५ वर्षिय सुगन लोथ्याल र सोहि ठाउका २८ बर्षिय हनु लोथ्याल रहेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनाको कारण एकिन नभएपनि निरन्तरको वर्षाका कारण बाटो चिप्लो हुन सक्ने भन्दै थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

