काठमाडौं- आज १८ जुन। विश्व इतिहासका असंख्य घटनाले आजको दिनलाई सम्झना दिलाउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्व चर्चित घटनाको सारसंक्षेप।
– सन् १८१५- वाटरलूको लडाईंमा नेपोलियनको पराजय
हालको बेल्जियममा पर्ने वाटरलूमा सन् १८१५ मा फ्रान्सका विश्व विजेता सम्राट नेपोलियनले कडा पराजय सामना गर्नुपरेको थियो। त्यतिबेला वाटरलू ‘युनाइटेड किङडम अफ नेदरल्यान्ड्स’को अधिनमा थियो। यो नै नेपोलियनको अन्तिम लडाईं थियो। त्यसमा पराजयपछि उनलाई एटलान्टिक महासागरको दक्षिणी दुर्गम टापु सेन्ट हेलेनामा निर्वासित गरिएको थियो। ६ वर्षपछि त्यहीं उनको मृत्यु भयो। ‘टु मिट्स वान्स वाटरलू’ अर्थात ‘वाटरलूको सामना’लाई आज पनि संसारभर पराजयको पर्यायवाची वाक्यांशका रूपमा प्रयोग गरिन्छ।
– सन् १९४८- एलपी रेकर्ड प्रणाली सार्वजनिक
टेपमा रेकर्ड हुने एलपी रेकर्ड प्रणाली सन् १९४८ मा आजकै दिन सार्वजनिक गरिएको थियो। कोलम्बिया रेकर्डसले विकास गरेको उक्त प्रणालीले लामो समय संसारमा राज गर्यो। डिजिटल प्रणाली आएपछि एलपी रेकर्ड बजारबाट हराएको छ। उक्त रेकर्ड प्रणालीमा दुई साइड हुन्थे। र, एक साइडमा २० मिनट रेकर्ड गर्न मिल्थ्यो।
– सन् १९७२- इंल्यान्ड विमान दुर्घटनामा मारिए ११८
सन् १९७२ मा आजकै दिन ब्रिटिस युरोपियन एयरवेजको विमान इंग्ल्यान्डको स्टेन्समा दुर्घटना हुँदा ११८ जनाको ज्यान गएको थियो। लन्डनको हिथ्रो विमानस्थलबाट बेल्जियमको ब्रसेल्सका लागि उडेको विमान दुर्घटनामा परेको थियो। हकर सिडेली ट्राइडेन्ट विमान उडान भरेको केही समयमै स्टलमा गएर जमिनमा बजारिएको थियो।
– सन् १९७९- अमेरिका र सोभियत संघबीच साल्ट सम्झौता
सन् १९७९ मा आजकै दिन तत्कालीन अमेरिकी राष्ट्रपति जिम्मी कार्टर र सोभियत संघका नेता लियोनिड ब्रेझनेभबीच ‘स्ट्राटेजिक आर्म्स लिमिटेसन (साल्ट)’माथि दोस्रोपटक सम्झौता भएको थियो। शीतयुद्धमा रहेका दुई मुलुकबीच भएको यो महत्त्वपूर्ण शस्त्र कटौती सम्झौता थियो।
– सन् २०१८- इन्डोनेसियामा फेरी डुब्दा मारिए १९३ जना
सन् २०१८ मा आजकै दिन इन्डोनेसियामा फेरी डुब्दा १९३ जनाको ज्यान गएको थियो। सुमात्रा टापुको टोबा तालमा उक्त फेरी डुबेको थियो।
– सन् २०१९- चेन्नईमा काकाकुल
सन् २०१९ मा यतिबेला भारतको छैटौं ठूलो शहर चेन्नईमा पानीको हाहाकार भएको थियो। र, रिजर्भवायरहरू सुकेका कारण त्यहाँका ४० लाख मानिसले काकाकुल सामना गर्नुपरेको थियो।
– सन् २०२२- इथियोपियामा मारिए २५० अमहारा जाति
सन् २०२२ मा आजकै दिन ओरोमो नामक लडाकु समूहले आक्रमण गरी अफ्रिकी मुलुक इथियोपियामा अहमारा जातिका २५० जनाको ज्यान लिएको थियो। इथियोपियाको पश्चिमी क्षेत्रस्थित ओरोमियामा उक्त घटना भएको थियो।
– सन् २०२३- टाइटानिक हेर्न गएका ५ जनाको सनसनीपूर्ण मृत्यु
समुद्रमा डुबेको टाइटानिक पानीजहाजको भग्नावशेष हेर्न गएका ५ जनाको मृत्युको खबरले संसारभर सनसनी मच्चिएको थियो। नर्थ एटलान्टिक महासागरमा १५ अप्रिल १९१२ मा डुबेको पानीजहाजको भग्नावशेष हेर्ने साहसिक यात्रामा उनीहरू पनडुब्बीमार्फत गएका थिए। सोही पनडुब्बी दुर्घटनामा पर्दा उनीहरूको मृत्यु भएको थियो।
– सन् २०२४- एनभिडियाले पछार्यो माइक्रोसफ्टलाई
सन् २०२४ मा आजकै दिन माइक्रोसफ्टलाई पछार्दै एनभिडिया संसारकै मूल्यवान कम्पनी घोषित भएको थियो। कम्पनीको कुल मूल्य ३.३४ ट्रिलियन अमेरिकी डलर पुगेको थियो।
– सन् २०२५- चीनसँग लहसिँदा कुक आइल्यान्ड्समाथि न्युजिल्यान्डको आर्थिक नाकाबन्दी
सन् २०२५ मा चीनसँग लहसिएको बताउँदै दक्षिण प्रशान्त महासागरीय टापु मुलुक कुक आइल्यान्ड्समाथि न्युजिल्यान्डले कडा आर्थिक नाकाबन्दी गरेको थियो। १५ वटा टापु मिलेर बनेको कुक आइल्यान्ड्स एक स्वशासित मुलुक हो। तर, न्युजिल्यान्डसँग “फ्री एसोसिएसन”का कारण उक्त टापु मुलुकका बासिन्दा न्युजिल्यान्डका नागरिक हुन्। कुक आइल्यान्ड्सले पूर्वाधार, पर्यटन र प्रविधिमा चिनियाँ लगानी भित्र्याउने सम्झौता चीनसँग गरेपछि न्युजिल्यान्डले आफूले दिँदै आएको लाखौं अमेरिकी डलर बराबरको आर्थिक सहायता बन्द गरिदिएको थियो।