काठमाडौँ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मत परिणामअनुसार नेकपा एमालेले काठमाडौँ उपत्यकाका साख गुमाउने भएको छ । तीन जिल्लामा रहेको २१ स्थानीय तहमध्ये ११ वटाको मत परिणाम सार्वजनिक भइसकेको छ ।
सार्वजनिक मत परिणामअनुसार एमालेले एक नगरपालिका र एक गाउँपालिकामा मात्रै जित हात पारेको छ । जसमा एमालेले कोन्जोसोम गाउँपालिका र टोखा नगरपालिकामा जित हात पारेको छ ।
यस्तै, शंखरापुर नगरपालिकामा राप्रपाले जित हात पादा नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिका जित हात पारेको छ ।
मत परिणाम सार्वजनिक भएको बाँकी ७ वटा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । जसमा काठमडौँमा दक्षिणकाली, कीर्तिपुर, तारकेश्वर, भक्तपुरमा मध्यपुर ठिमी र चाँगुनारायण, ललितपुरमा महांकाल र बागमती नगरपालिकामा जित हात पारेको छ ।
सत्ता गठबन्धन दलहरूसँग चुनावी तालमेल गरेको नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दलहरूले कुनै स्थानीय तहमा जित्न सकेको छैन् ।
यसअघिको स्थानीय तह निर्वाचनमा उपत्यकाको काठमाडौँ महानगरसहित एमालेले धेरै स्थानमा जितेको थियो । यसपटक काठमाडौँको महानगरमा स्वतन्त्र उम्मेदवार एमालेका उम्मेदवारभन्दा धेरै अगाडि रहेका छन् । यस्तै, अन्य स्थानमा पनि एमाले कमजोर देखिएको छ ।