काठमाडौँ । श्रीलंकामा सरकार विरोधी प्रदर्शन रोक्न सुरक्षाकर्मीलाई गोली हान्न आदेश दिएको छ । आर्थिक चपेटामा परेर शुरु भएको आन्दोलनमा कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश दिइएको हो ।
श्रीलंका इतिहासकै सबैभन्दा खराब आर्थिक संकटबाट गुर्जिरहेको छ । प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षको राजीनामा माग गरिरहेका छन् ।
सोमबार मात्रै गोटाबायका दाइ महिन्दा राजापाक्षले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । प्रधानमन्त्रीले राजीनामा दिए पनि हिंसा रोकिएको छैन ।
सरकारले सार्वजनिक सम्पत्तिमाथि हानी गर्ने वा ‘जीवनमा हानी’ गर्ने जो कसैलाई सीधै गोली हान्न आदेश दिएको हो । राजधानी कोलम्बोका सडकमा गस्तीका लागि हजारौँ सेना, नौसेना र वायु सेनाहरू तैनाथ छन् ।
मंगलबार प्रदर्शनकारीले प्रधानमन्त्रीको सरकारी निवासमा आगो लगाइदिएर नष्ट गरिदिएका थिए । यस्तै, राष्ट्रपतिको जन्म घरमा समेत आगो लगाएर ध्वस्त बनाइदिएका थिए ।
यसैबीच प्रधानमन्त्री पदबाट राजीनामा दिएका राजापाक्ष भागेर भारत पुगेका छन् ।