काठमाडौँ । भरतपुर महानगरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई भेट्न नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल उनकै निवासमा पुगेका छन् ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलका उम्मेदवार नेकपा माओवादी केन्द्रका रेणु दाहाललाई सघाउन उनले पौडेललाई आग्रह गरेका छन् ।
नेता पौडेलले पौडेलसँगै प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मिना खरेल र पूर्वसांसद भीमबहादुर श्रेष्ठसँग भेट गरेका छन् । सभापति शेरबहादुर देउवासँगै चितवन पुगेका पौडेलले एक्लै स्वतन्त्र उम्मेदवारका पक्षमा रहेका नेताहरूसँग भेट गरेका हुन् ।
नेता पौडेलले स्वतन्त्र उम्मेदवार पौडेललाई भेटेर उमेदवारी फिर्ता लिन आग्रह गरेका थिए । तर, उम्मेदवार पौडेलले फिर्ता कुनै अवस्था नरहेको अडान राखेका थिए ।
मेयरका उम्मेदवार पौडेलले आफूहरूले रूखलाई बचाउन लागेको भन्दै प्रश्न गरेको बताएका थिए । पौडेलका समर्थक नेता कृष्णलाल सापकोटाले सभापति देउवासँग कुरा गर्नु कुनै औचित्य नभएको बताएका छन् ।