नयाँदिल्ली- भारतमा कोभिड-१९ का नयाँ भेरियन्टसहितका बिरामी फेला पर्न थालेपछि यसको महामारी फेरि फैलिने चिन्ता बढेको छ।
सन् २०१९ को अन्त्य र २०२० को शुरुवातसँगै शुरु भएको कोरोना भाइरसको संक्रमणबाट हुने कोभिड-१९ महामारीले दुई वर्षसम्म संसारलाई ठप्प बनाएको थियो।
फेरि नयाँ भेरियन्टसहित कोरोना संक्रमित भेटिन थालेपछि महामारी शुरु हुने चिन्ता बढेको हो।
इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका अनुसार एलएफ-७, एक्सएफजी, जेएन-१ र एनबी-१-८-१ गरी चारवटा नयाँ भेरियन्टको संक्रमण देखिएको छ। तीमध्ये एलएफ-७ र एनबी-१-८-१ विलकुल नयाँ भेरियन्ट हुन्।
खासगरी, गुजरात र तमिलनाडु राज्यमा नयाँ भेरियन्टको संक्रमण फेला परेको छ। भारतको छिमेकी नेपालसहितका देशमा पनि नयाँ कोरोना संक्रमित फेला पर्न थालेका छन्।
भारतमा भने एक साताभित्र कोरोना संक्रमणका ७८७ बिरामी फेला परिसकेका छन्। तीमध्ये १२ जनाको मृत्यु भएको छ। त्यसैले कोरोना संक्रमणबाट बच्न पर्याप्त सावधानी आवश्यक रहेको चिकित्सकहरूले सुझाव दिएका छन्।
नवजात शिशु र स-साना बालबालिका, रोग प्रतिरोधी क्षमता कमजोर कमजोर रहेका व्यक्तिहरू, ६० वर्षभन्दा माथिका मानिस, गर्भवती र कुनै गम्भीर बिरामीबाट पीडितहरू नयाँ भेरियन्टको ज्यादा जोखिममा छन्।
गला खसखसाउने, सुक्खा खोकी, ज्वरो आउने, नाक बन्द हुने, टाउको दुख्ने, वाकवाकी लाग्ने, ग्यास्ट्रोइन्टेस्टाइनलको समस्या तथा स्वाद र गन्ध थाहा नपाउने लक्षण नयाँ भेरियन्टको संक्रमणमा देखिन्छन्।