नयाँदिल्ली- आइतबार अर्थात् २५ मेदेखि नौदिने प्रचण्ड गर्मी शुरु भएको छ। यो २ जुनसम्म कायम रहन्छ।
यी नौ दिन वर्षकै सर्वाधिक गर्मी हुन्छ। शास्त्रहरूका अनुसार यो नौदिने गर्मी तब शुरु हुन्छ, जब जेठ महिनामा सूर्य रोहिणी नक्षत्रमा प्रवेश गर्छ।
यस समयमा घरबाट बाहिर निस्किनु कुनै खतरामा खेल्नुभन्दा कम हुँदैन। अझ कुनै स्वास्थ्य समस्याबाट गुज्रिइरहेका व्यक्तिहरूका लागि बढी जोखिमयुक्त दिन हुन् यी। किनकि, कुनै रोगसँग लडिरहेका व्यक्तिहरूमा ज्यादा गर्मी झेल्ने क्षमता हुँदैन।
सन् २०२४ मा भारतमा मात्र हिट स्ट्रोकका कारण ३६० जनाको ज्यान गएको थियो। तथापि, अन्य एजेन्सीहरूले त्यो संख्या ७३३ रहेको बताएका थिए। अधिकांश मृत्यु गत वर्षको यही समयमा भएको थियो।
मुटु रोग, मिर्गौलाको समस्या, श्वासप्रश्वासका बिरामी, उच्च रक्तचापको समस्या भएका व्यक्ति, मानसिक स्वास्थ्यसँग जुधिरहेका मानिस, मधुमेह र मोटोपनका समस्या भएकाहरूले यो समयमा विशेष सावधानी अपनाउनु आवश्यक हुने चिकित्सकहरू बताउँछन्।
कसरी बच्ने प्रचण्ड गर्मीबाट ?
– दिउँसो १२ देखि ३ बजेसम्म चर्को घाममा हिँडडुल नगरौं
– हरेक आधा घण्टामा पानी, मही या जुस पिउने गरौं
– सुतीका हल्का रंगका कपडा लगाऊँ
– फलफूल, दही र सातुजस्ता हल्का खाद्य पदार्थ खाऊँ
– डिप फ्राइ गरेका र मसालेदार खाना नखाऊँ
– कुलर या एयर कन्डिसनरको सुविधा भएका कोठामा बसौं
– चुरोट र मदिरासँग पूर्ण रूपमा दूरि बनाऊँ
– बाहिर निस्किनैपर्नेछ भने टोपी या गम्छाबाट शीर ढाकौं
– घाममा निस्किनुअघि सनस्क्रिन र चश्माको प्रयोग गरौं
– चर्को घाममा शारीरिक मिहिनेत बढी हुने काम नगरौं
– कुनै पनि प्रकारका शारीरिक व्यायाम नगरौं
– घाम अस्ताएपछि र बिहान ६ बजे वाक गर्न सकिन्छ
– कुनै पनि समस्या देखिएमा तत्काल डाक्टरको सम्पर्कमा पुगौं