नयाँदिल्ली- प्रहरीले मंगलबार बिहान राजस्थानको जोधपुरस्थित जालोरी गेट क्षेत्रमा भीडलाई तितरबितर पारेको छ। र, मध्यप्रदेशको खरगोनमा कर्फ्यूको समयमा पुलिस तैनाथ गरिएको छ।
राजस्थानको जोधपुरमा सोमबार राति झण्डा र लाउडस्पिकर राख्ने विषयमा दुई समुदायबीच ढुंगा हानाहान भएको थियो। यो विवाद मंगलबार फेरि चर्किएको छ। सोही कारण जलोरी गेट क्षेत्रमा मंगलबार बिहान एक समुदायका मानिस भेला भएर फेरि अराजकता फैलाउने प्रयास गरेका छन्। सो क्षेत्रमा ढुंगा हानाहाना र आगजनीका घटना भएका छन्।
प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरी भीडलाई तितरबितर पारेको थियो। सोही क्रममा २० भन्दा बढी सवारी साधनको सिसा तोडफोड गरिएको छ। आक्रोसित भीडले एटीएम मेसिनहरू पनि तोडफोड गरेका छन्।
मंगलबार अनन्तनागको मस्जिदबाहिर ढुंगामुढा भएको थियो। इदको नमाजपछि प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरेका थिए। यसैबीच, मध्य प्रदेशको खरगोनमा भएको दंगाको २२ दिनपछि कर्फ्यूको बीचमा चाडपर्व मनाइँदैछ।