नयाँदिल्ली- भारतमा नयाँ साइबर ठगी ‘डिजिटल एरेस्ट’ व्यापक बनेको छ। डिजिटलाइजेसनका कारण यो ठगी धन्दा तीव्र गतिमा बढेको छ।
यो ठगीको यस्तो जाल हो, जसमा आम नागरिक, प्रोफेसनल्स र ठूला व्यापारी-उद्योगपतिदेखि छात्रछात्राहरू पनि फसिरहेका छन्।
भारतको केन्द्रीय गृह मन्त्रालयका अनुसार सन् २०२४ मा भारतभर डिजिटल एरेस्टको नाममा २ हजार १४० करोड भारु ठगी भएको थियो।
साइबर ठगीको यो यस्तो तरिका हो, जसमा साइबर अपराधीले आफूलाई प्रहरी अधिकारी, साइबर सेल एजेन्ट या सरकारी अनुसन्धान एजेन्सीको सदस्य बताउँछन्। र, अश्लील भिडियो सेयर, मनी लाउन्ड्रिङ या लागूऔषध ओसारपसार र प्रयोग गरेको आरोप लगाउँदै डिजिटल प्लेटर्फमार्फत धम्क्याउँछन्।
त्यसपछि ह्वाट्सएपमा भिडियो कल गर्दै नक्कली प्रहरीको कार्ड, वारेन्ट र अदालतको वारेन्ट देखाउँछन्। र, भिडियो कलमार्फत नै ‘डिजिटल एरेस्ट’ गरेको बताउँछन्। अनि धम्क्याउँदै जमानतको रकम भुक्तानी गर्न दबाब दिन्छन्। सरकारी एजेन्सीहरूले त्यसरी पक्राउ र सोधपुछ नगर्ने जानकारी नभएका व्यक्तिहरू अपराधीको चंगुलमा पर्छन् र अपराधीलाई रकम पठाउँछन्।
तथापि, संसारभरका कुनै पनि प्रहरी या सरकारी अनुसन्धान निकायहरूले व्यक्तिलाई त्यसरी डिजिटल प्लेटफर्ममा पक्राउ गर्दैनन्। र, सोधपुछ र अनुसन्धान डिजिटल प्लेटफर्मबाट हुँदैन, व्यक्तिलाई नियन्त्रणमा लिएरै गरिन्छ।
त्यसैले कल डिजिटल एरेस्ट शतप्रतिशत फ्रड हो। संसारका कुनै पनि देशमा डिजिटल एरेस्टको कानून छैन। कुनै पनि प्रहरी र सरकारी एजेन्सीले भिडियो कल गरेर व्यक्तिलाई एरेस्ट गरेको बताउँदैनन्।
व्यक्तिको गिरफ्तारी सधैं कानूनी प्रक्रियाका लागि हुन्छ। र, प्रहरीले व्यक्तिलाई नियन्त्रणमै लिएर त्यो कानूनी प्रक्रिया पूरा गर्छ। कुनै पनि सरकारी एजेन्सीले ह्वाट्सएप या सामाजिक सञ्जालमार्फत आधिकारिक सूचना पठाउँदैनन्।
भारतमा प्रहरीले यस्तो अपराधमा प्रयोग भएका ७ लाख ८१ हजारवटा सिम डिएक्टिभेट गराएको छ। यस्तै, ८३ हजार ६६८ वटा ह्वाट्सएप र ३ हजार ९६२ वटा स्काइप आईडी ब्लक गरिदिएको छ।
त्यसैले नचिनेको नम्बरबाट आएको भिडियो कल नउठाऊँ। सामाजिक सञ्जालमा आफ्नो निजी जानकारी सेयर नगरौं। नचिनेको नम्बरबाट आउने फोन र म्यासेजमाथि भरोसा नगरौं। फोनमार्फत कसैलाई बैंक डिटेल्स सेयर नगरौं। र, कुनै अन्जान लिंकमा क्लिक नगरौं।
भास्कर डट कमबाट