काठमाडौँ । जिल्लामा चुनावी प्रचारप्रसार अभियानलाई सबै राजनीतिक दलहरुले तीव्र बनाएका छन् । सहरदेखि गाउँसम्म आफ्ना पार्टीका झण्डा फहराउँदै चुनावी गीतमा नाच्दै र रमाउँदै हिँड्नेमा नेतादेखि कार्यकर्ताको ताँती छ ।
सत्ता गठबन्धनमा रहेका दलहरू, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले र अन्य राजनीतिक दल आफ्नै चुनावी एजेण्डा लिएर मतदाताको घरदैलामा पुग्न थालेका छन् । शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकतामा राखेर तयार गरिएका प्रतिबद्धता पत्रसहित आफ्नै घरको आँगनमा उम्मेदवारलाई भेट्दा मतदातासमेत उत्साही बनेका छन् ।
विशेष गरेर मुख्य पदका उम्मेदवार गाउँमा पुग्दा भोट मात्र माग्दैनन् । मतदाताको समस्या बुझ्दै डायरीमा नोट गर्दै आफूले जितेमा सबै काम गरिदिने प्रतिबद्धतासमेत जनाउने गरेका छन् । मेचीनगर नगरपालिका १५ स्थित भण्डाबारी टोलकी ७५ वर्षीया डुकु मुर्मुले विगतमा जस्तो चुनावी चहलपहल यसपालि नभएको बताइन् ।
‘पहिला त घरघरमा झण्डा राखिदिने, चुनाव प्रचारमा हिँडेबापत दैनिक ज्याला दिनेसम्म गर्थे,’ उनले भनिन्, ‘यसपालि चाहिँ त्यसो गर्ने कोही आएनन् ।’
पहिलोपटक चुनावमा भाग लिन लागेका मेचीनगर १४ का १९ वर्षीय दीपेन्द्रकुमार न्यौपानेले उत्साही हुँदै भने, ‘बुबा, आमा, दाजु दिदीले भनेको पार्टी र व्यक्तिलाई भोट दिन्न । जनताको लोकप्रिय, युवाको समस्या पहिचान र समाधान गर्नेलाई दिन्छु ।’
राजनीतिक दलहरूले बिहान ६ बजेदेखि नै चुनावी अभियान शुरु गर्ने र आफ्ना उम्मेदवारलाई लिएर बाजागाजासहित हिँड्ने गरेका छन् । यसरी हिँड्दा कतिपय स्थानमा अन्तरदलीय उम्मेदवारबीच भेट हुँदासमेत एक अर्कामा अँगालो मारेर आत्मीयता साटेको देखिन्छ ।
मेचीनगर १५ का ८३ वर्षीय कालिन्द्र राजवंशीले विगतमा भन्दा यसपालिको चुनाव पृथक लागेको बताए । उनले भने, ‘गाउँघरमा चुनाव आएपछि वल्लोपल्लो घरबीच बोलचाल बन्द हुन्थ्यो, कसले ठूलो झण्डा राख्ने भन्ने होडबाजी नै चल्थ्यो, यसपालि शान्त छ ।’
यसपालिको चुनावमा त्यस्तो केही नभएको र जुनसुकै पार्टी भए पनि हाम्रोलाई नभएर राम्रोलाई भोट दिऊँ भन्दै सरसल्लाह हुने गरेको उनको भनाइ छ ।
उनले आफूले भोट दिएर जिताएका जनप्रतिनिधि फेरि फर्केर गाउँ आएर बाटो, पानी, ढल, शिक्षा, स्वास्थ्यको बारेमा चासो राखेर काम गरुन् भन्ने अपेक्षा व्यक्त गरे । उनले भने, ‘हामीले मत दिन्छौँ, उनीहरुले विकास दिनुपर्यो ।’