काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनअघि ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध भएका छन् । उनीहरूको विरुद्धमा उम्मेदवारी दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेदवारी फिर्ता भएसँगै निर्विरोध भएका हुन् ।
हिमाली बस्ती फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलाका वडाध्यक्षसहित पाँच जना निर्विरोध भएका छन् । पछिल्लो समय निर्विरोध हुनेमा एक महिला सदस्य र चार दलित महिला सदस्यसहित दश जना रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।
निर्विरोध हुनेहरूमा नेपाली कांग्रेसबाट तीन जना, नेकपा एमालेबाट एक जना र नेकपा माओवादी केन्द्रबाट एक जना उम्मेदवार निर्विरोध भएको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै ओलाङचुङगोलामा भने वडाध्यक्षसहित पाँच स्वतन्त्र उम्मेदवार निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार फुङ्लिङ नगरपालिका ५ मा एमालेबाट उम्मेदवारी दिएकी महिला सदस्य गंगा दर्नाल निर्विरोध भएकी छिन् । कांग्रेसबाट सिरिजंगा गाउँपालिका ८ याम्फुदिन र मिक्वाखोला गाउँपालिका ३ लिवाङमा दलित महिला सदस्यमा उम्मेदवारी दिएका क्रमशः सीतादेवी सार्की र लक्ष्मीमाया विक निर्विरोध भएका छन् ।
यस्तै फताङ्लुङ गाउँपालिका ६ लेलेपमा कांग्रेसबाट उम्मेदवारी दिएकी मञ्जु कामी पनि निर्विरोध भएकी छिन् । यस्तै मिक्वाखोला ५ पापुङमा माओवादीबाट उम्मेदवारी दिएकी सरिता गहते दलित महिला सदस्यमा निर्विरोध भएकी जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी विपिन दुलालले बताए ।