काठमाडौँ । सत्ता गठबन्धन दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन लक्षित गरी सबै प्रदेशमा खुला सभा गर्ने भएको छ ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित गरी कांग्रेसले सबै प्रदेशमा खुला सभा गर्ने भएको हो । यसका लागि कांग्रेसले कार्य तालिका सार्वजनिक गरिसकेको छ ।
कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयअनुसार सबै प्रदेशमा सभा गर्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यसका लागि कांग्रेसले आगामी २१ गते प्रदेश नं १ को मोरङ, वैशाख २२ मा मधेस प्रदेशको धनुषा, वैशाख २३ मा बागमती प्रदेशको काठमाडौँ, वैशाख २४ मा गण्डकी प्रदेशको कास्की, वैशाख २५ गते लुम्बिनी प्रदेशको रुपन्देही, वैशाख २६ गते कर्णाली प्रदेशको सुर्खेत र वैशाख २७ गते सुदूरपश्चिम प्रदेशको कैलालीमा खुला सभा गर्न लागेको हो ।
सबै सभाको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्य समितिले गर्ने मुख्यसचिव पौडेलले बताए ।