नयाँदिल्ली- युनिभर्सिटी अफ ओटावा हुमन एन्ड इन्भारमेन्टल फिजियोलोजी रिसर्च युनिटको अध्ययनअनुसार बाहिरी तापक्रम ३७ डिग्रीभन्दा बढी हुँदा हाम्रो शरीरमा समस्या शुरु हुन्छ। र, शरीरले विभिन्न लक्षण देखाउँछ।
तथापि, ४० देखि ४२ डिग्रीसम्मको तापक्रम मानव शरीरले सहजै सहन सक्छ। तर, वातावरणमा ह्युमिडिटी अधिक हुँदा शरीरका लागि खतरनाक हुन्छ।
भारतीय मौसम विभाथका अनुसार यस वर्ष उत्तर-पश्चिमी इलाकामा हिटवेभको प्रकोप विगतको तुलनामा दोब्बर हुने आकलन छ। त्यसबाट नेपालको पश्चिम-दक्षिणी भेग पनि प्रभावित हुने सम्भावना छ।
खासगरी, अप्रिलबाट जुनसम्म लगातार ५-६ दिनसम्म ‘तातो हावा (लू)’ चल्छ। यस वर्ष १०-१२ दिनसम्म तातो हावा चल्ने जोखिम देखिएको छ। यदि त्यस्तो भयो भने सन् २०२५ हालसम्मकै सर्वाधिक गर्मी वर्ष हुनेछ।
त्यसैले, हिटवेभबाट बच्न अत्यधिक पानी पिऊँ। नरिवल पानी शरीरलाई लाभदायक हुन्छ। त्यसबाट शरीरलाई पानी र मिनरल्स दुवैको आवश्यकता पूर्ति हुन्छ।
चर्को घाममा नहिँडौं। अत्यधिक गर्मी रहेका ठाउँमा एसी र कुलरको उपयोग गरौं। ती दुवै उपलब्ध नरहेका ठाउँमा पंखा पनि उपयोगी हुन्छ।
हल्का र खुला कपडाहरू लगाऊँ। खासगरी, सुतीका कपडा लगाउनु उपयुक्त हुन्छ। बिहान ११ देखि अपराह्न ३ बजेसम्म अत्यधिक गर्मी हुन्छ। त्यो समयमा सकेसम्म घर र अफिस बाहिर ननिस्किऊँ।
चिसो पानीबाट नुहाउँदा शरीरलाई फाइदा पुग्छ। ह्युमिडिटी अधिक रहेका ठाउँमा नजाऊँ।
धेरै खाना नखाऊँ। किनकि, गर्मीमा शरीरलाई खाना पचाउन सकस हुन्छ। हल्का खाना, पानीबाट भरपुर फलफूलहरू, काँक्रोलगायत खाऊँ।
शरीरले अधिक गर्मी महशुस गर्नु, त्यस्तो अवस्थामा पनि शरीरबाट पसिना नआउनु, रिंगटा लाग्नु, टाउको दुख्नु, अत्यधिक कमजोरी महशुस हुनु, थकान अनुभूति हुनु र तीव्र ज्वरो आउनु हिटवेभबाट शरीर प्रभावित भएका लक्षण हुन्।
भास्कर डटकमबाट