काठमाडौं- अहिले जाडो मौसम छ। यो मौसममा प्रायः मानिसहरूको छाला फुस्रो हुने, फुट्ने, सुक्खा हुने, चिलाउने, हातखुट्टा सुन्निनेलगायत समस्या देखिन्छन्।
‘चिलब्लेन्स’ वा ‘पेर्नियो’ भन्ने समस्याले पनि जाडो महिनामा मानिसलाई दुःख दिने गर्छ। यसलाई खासगरी हातगोडा वा शरीरका बाहिरी अंग रातो हुने, सुन्निने, फोका उठ्ने, घाउ हुने आदि समस्याका रूपमा बुझिन्छ।
‘चिलब्लेन्स’ले रगतका मसिना नसामा खराबी ल्याउँछ। जति चिसोमा खेल्यो, त्यति नै यो समस्या बल्झिन्छ। हातखुट्टाका औंलाका टुप्पा, नाकको टुप्पो, कपडाले नछोप्ने भाग आदिमा यस्तो समस्या देखापर्छ। धेरै चिसोले गर्दा शरीरको रगत सञ्चालनमा असर पर्न जान्छ।
लक्षण
छाला चिलाउने, चिलाएको ठाउँमा पोल्ने, सुन्निने, दुख्ने र रातो हुँदै विस्तारै गाढा नीलो हुने गर्छ। हातखुट्टा झमझमाउँछन्। पानीको फोका आउन थाल्छ। त्यसलाई समयमै स्याहार नगरे फुटेर घाउ बन्छ। समयमै उपचार नगर घाउ बढेर अल्सरसमेत हुन सक्छ।
के गर्ने ?
यो रोगबाट बच्न चिसोदेखि जोगिनु नै पहिलो प्राथमिकता हो। चिसोमा काम गर्नु वा खेल्नु परेमा गोडामा मोजा र हातमा पञ्जा लगाउनुपर्छ। यदि, पानीमा काम गर्नुपर्ने अवस्थामा पञ्जा लगाउन नमिले मनतातो पानीमा काम गर्नुपर्छ।
चिसोबाट आएपछि एक्कासी तातोमा हातखुट्टा सेक्नु हुँदैन। बाहिर चिसोबाट घर छिरेर तातोमा हातखुट्टा सेकाउँदा ठीक हुन्छ भन्ने बुझाइ धेरैमा पाइन्छ, जुन गलत हो। ‘चिलब्लेन्स’ले दुःख दिएको छ भने हातगोडा सेकाउनुभन्दा पनि मालिस गर्नु उपयुक्त हो।
रगत सर्कुलेसनलाई बढाउने उपाय अपनाउनुपर्छ। यस्तै, मनतातो पानीमा हातखुट्टा डुबायो भने पनि रगत सञ्चालनमा सहज हुन्छ। लोसन प्रयोग गरेर मालिस गर्दा यो समस्याबाट छुटकारा पाउन सकिन्छ।