काठमाडौँ । अप्रिल १३ मा हरिद्वारमा भएको एक कार्यक्रममा राष्ट्रिय स्वयमसेवक संघ(आरएसएस) प्रमुख मोहन भागवतले १५ वर्षमा ‘अखण्ड भारत’ बन्ने दाबी गरे । भागवतको भनाइपछि पुनः ‘अखण्ड भारत’को बहस शुरु भएको छ ।
आरएसएसले भारतको स्वतन्त्रता अघिदेखि नै अखण्ड भारत निर्माणलाई आफ्नो लक्ष्य बनाउँदै आएको छ । संघका विगतका प्रमुखहरूले पटक–पटक ‘अखण्ड भारत’बारे बयान दिइसकेकाले भागवतको भनाइ पहिलो होइन ।
भारतको केन्द्रमा सरकार बनाएको भारतीय जनता पार्टी (भाजपा)को मातृ संगठन आरएसएसमा ‘अखण्ड भारत’को चर्चा रहे पनि यसले के जनाउँछ भन्ने एकल धारण छैन । ‘अखण्ड भारत’ के जनाउँछ भन्ने चार अलग धार छ । एक धारले अखण्ड भारतमा भारतको साथमा पाकिस्तानले कब्जा जमाइरहेको आजाद कश्मीर र चीनको नियन्त्रणमा रहेको कश्मीरको भाग अक्साई–चीन पर्ने मान्छन् । दोस्रो थरी सन् १९४७ मा विभाजन हुनुअघिको पाकिस्तान, भारत र बंग्लादेश पर्ने मान्छन् ।
तेस्रोमा अहिलेको भारतमा अफगानिस्तान, पाकिस्तान, नेपाल, भूटान, म्यानमार, बंग्लादेश र श्रीलंकाको ठूलो भागलाई समेट्छन् । सबैभन्दा वितृत हिस्साले भारत, अफागानिस्तान, पाकिस्तान, नेपाल, भुटान, म्यानमार, बंगलादेश, श्रीलंकाको अतिरिक्त थाइल्याण्ड, मलेशिया, इण्डोनेसियासमेत ठूलो क्षेत्रलाई अखण्ड भारत मान्छ ।
‘अखण्ड भारत’को इतिहास
प्राचीन हिन्दु धर्म ग्रन्थमा उल्लेख हुने भारत वर्षले अहिलेको दक्षिण एशियाको अधिकांश भागलाई जनाउने गथ्र्यो । राजनीतिक रुपमा इसापूर्व ३२१ मा चाणक्यको मार्ग निर्देशनमा सम्राट चन्द्रगुप्त मौर्यले अधिकांश भारत वर्षलाई एकीकरण गर्ने स्थितिको निक्कै नजिक पुगेका थिए ।
आधुनिक कालको कुरा गर्दा १९२४ मा ११ वर्षे जेल जीवनबाट बाहिरिएपछि हिन्दु राष्ट्रवादी विनायक दामोदर सावरकरले लेखेको पुस्तक ‘माई ट्रान्सफरमेसन फर लाइफ’मा अखण्ड भारतको चर्चा गरेका छन् । आरएसएसको हालको ‘अखण्ड भारत’को विचारका पिता साबरकरलाई मानिन्छ ।
सन् १९३७ मा हिन्दु महासभाकाको १९ औँ वर्ष गाँठमा सावरकरले सम्बोधन गर्ने क्रममा अखण्ड भारतले के समेट्ने छ भन्ने कुरा स्पष्ट गरेका थिए । ‘हिन्दु स्थानलाई अखण्ड राख्नु पर्छ, यसमा कश्मीरदेखि रामेश्वरमसम्म र सिन्धदेखि असमसम्म सामेल छ,’ साबरकरले भनेका थिए ।
सावरकरको यही ‘अखण्ड भारत’को सपना पूरा गर्ने लक्ष्य लिएको भाजपा र आरएसएसले बताउने गर्छ । अखण्ड भारतको यस लक्ष्यमा विभिन्न देशमा विभाजित सम्पूर्ण कश्मीरको अतिरिक्त पाकिस्तानको सिन्ध पनि सामेल छ ।
सन् १९४९ मा कोलकातामा सम्पन्न आरएसएको सम्मेलनमा सर संघ चालक सदाशिव गोलवलकरले पनि पाकिस्तानलाई समेत मिलएर ‘अखण्ड भारत’ बनाउने प्रयास गर्नु पर्ने बताएका थिए ।
आरएसएसद्वारा सञ्चालित सुरुची प्रकाशनले हालै ‘पुण्यभूमि भारत’ नाममा एक नक्सा निकालेको छ । त्यस नक्सामा अफगानिस्तानलाई ‘उपगणस्थान’, काबुललाई ‘कुभा नगर’, पेशावरलाई ‘पुरुषपुर’, मुल्तानलाई ‘मुलस्थान, तिब्बतलाई ‘त्रिविष्टप’, श्रीलंकालाई ‘सिंघलद्विप’, म्यानमारलाई ‘ब्रम्हादेश’ र थाइल्याण्डलाई ‘श्यामदेश भनेर यी सबै सहर तथा ती सहर रहेका देश समेटिएको छ ।
सम्भव छ अखण्ड भारतको सपना ?
भारतका उग्र हिन्दुत्ववादी राजनीतिज्ञको नारामा सिमित अखण्ड भारत कार्यन्वयन हुने सम्भावना कत्तिको छ ? जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक राजन कुमारले मोहन भागवतले अखण्ड भारत भनेर कुन कालको भारतलाई लक्षित गरेको स्पष्ट नगरेको बताउँदै ‘मौर्य कालको अखण्ड भारतमा रहेका धेरै मुलुक अहिले स्वतन्त्र रहेको र ती मुलुकलाई समेट्न भारतले युद्ध घोषण गर्नु पर्ने र त्यो खतरनाक विकल्प हुने’ बताए ।
कुमारका अनुसार हदसे हद ‘अखण्ड भारत’मा हाल भारतमा जोडिन नसकेको सन् १९४७ अघिको सम्पूर्ण कश्मीर आउन सक्ने सम्भावना छ । तथापि, हिजो स्वतन्त्र हुनुअघिका मुलुक पाकिस्तान, बंग्लादेश र भारत समेटेर युरोपेली युनियनजस्तो शक्तिशाली संघ बनाउन सकिने भारतका पूर्व प्रधान न्यायाधीश मार्कडेय काटजुले बताए । भाष्करबाट