पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामा गत मंगलबार ६ वर्षपछि पहिलोपटक ह्वाइट हाउस पुग्दा माहोल निकै उत्साहपूर्ण देखियो। डोनाल्ड ट्रम्पले सत्ता सम्हालेपछि ओबामा ह्वाइट हाउस गएका थिएनन्।
सन् २००९ देखि २०१७ बीचमा दुई कार्यकाल अमेरिकाका राष्ट्रपति रहेका ओबामा उनकै पालामा प्रस्ताव गरिएको ‘एफोर्डेबल केयर एक्ट (एसीए)’ पारित भएको खुशी मनाउन ह्वाइट हाउस पुगेका थिए।
विपक्षी रिपब्लिकन पार्टीले ‘एफोर्डेबल केयर एक्ट’ खारेज गराउन तीन पटकसम्म सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । तथापि, निर्णय विधेयकको पक्षमा हुदै आएको थियो।
ह्वाइट हाउसको कार्यक्रममा बोल्दा ओबामाले वर्तमान राष्ट्रपति जो बाइडेनलाई ‘उपराष्ट्रपति’ भनेर सम्बोधन गरे, उनी चिप्लिएको सुनेपछि समारोहमा उपस्थित सबै हाँसेका थिए। उनको सम्बोधनले अन्योल सिर्जना गरेको स्थितिमा ओबामाले आफूले मजाक गरेको र ‘यसबारेमा आफूहरूबीच पहिले कुरा भएको’ बताए।
त्यति भनेर ओबामाले छेउमा उभिरहेका बाइडेनलाई अँगालेका थिए। दुई डेमोक्रेट नेताबीचको यो सौहार्द्रताप्रति उपस्थित अतिथिले ताली बजाएका थिए। बाँकी सम्बोधनमा ओबामाले बाइडेनले सत्ता सम्हालेदेखि आम अमेरिकी जनताको स्वास्थ्यस्तर सुधार्न उठाएका कदमबारे बोलेका थिए।
अमेरिकामा बढ्दो महँगीमाझ बाइडेनको लोकप्रियता निरन्तर खस्किरहेका बेला ओबामाको ह्वाइट हाउस भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। मध्यावधि निर्वाचन नजिकिएको स्थितिमा राष्ट्रपतिको गिर्दो लोकप्रियताबाट डेमोक्रेट्सहरू चिन्तित छन्।
अमेरिकाका दुवै सदनका कैयौं सिटमा लागि हुने मध्यावधि निर्वाचनले दुवै सदनमा कायम बहुमत फेर्न सक्छ। अहिले सिनेट र तल्लो सदन दुवैमा डेमोक्रेटिक पार्टीको झिनो अन्तरको अग्रता छ। यीमध्ये कुनै पनि सदनमा डेमोक्रेट्सले बहुमत गुमायो भने बाइडेनका बाँकी एजेन्डा पारित हुन गा¥हो हुनेछ।
अमेरिकाका जीवित पूर्वराष्ट्रपतिमध्ये ओबामा सबैभन्दा बढी लोकप्रिय छन्। त्यसैले पनि पार्टीको मताधारलाई उत्साहित गर्न ओबामा ह्वाइट हाउस गएको हुनसक्ने आकलन गरिएको छ।
ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले भने राजनीतिज्ञबीचको भेट राजनीतिक मात्र नभएर दुई असल मित्रबीचको भेटघाटका रूपमा हेनुृपर्ने बताइन्। ‘दुईजना राजनीतिक सहयात्री मात्र होइनन्, साँच्चैका मित्र हुन्,’ साकीले भनिन्।