काठमाडौं- कञ्चनपुर भिमदत्त नगरपालिका-६ शान्ती निकेतनस्थित सडकमा ना.४ ख ४४६६ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-७ बस्ने ४० वर्षीया मन्जु देवी बुडालको सोमबार बिहान घटनास्थलमै मृत्यु भएको छ । हाल फरार बसका चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सिरहा लहान नगरपालिका-११ पडरियास्थित सडकमा स.१ त ४५५६ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ४२ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सिन्धुली कमलामाई नगरपालिका-११ फाल्चुरीस्थित सडकमा प्र २-०२-००१ ह १७२० नम्बरको अटो आफै अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा अटोमा सवार कमलामाई नगरपालिका-७ माझिटार बस्ने ४५ वर्षीय अमित लामाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका लामाको उपचारको लागि जिल्ला अस्पताल सिन्धुलीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार १ जनाको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।